ट्रम्पको एक वाक्यले पल्टायो बजारको मनोविज्ञान — सेयर फ्यूचर्समा जबरजस्त उछाल

ecopolinews.com

वाशिङ्टन, अक्टोबर १३ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार “चिन्ता नगर्नुस् चीनको” भन्ने आफ्नो वक्तव्यपछि अमेरिकी सेयर बजारका फ्यूचर्सहरूमा पुनः उछाल आएको छ।

अमेरिकी समयअनुसार साँझ ६:३२ बजे (ET) सम्म डाउ फ्यूचर्स ०.८% ले बढेर, एसएन्डपी ५०० फ्यूचर्स १.०४% र नास्ड्याक फ्यूचर्स १.३४% ले उक्लिएका थिए।

यसअघि शुक्रबार अमेरिकी बजारमा ठूलो गिरावट आएको थियो। ट्रम्पले चिनियाँ सामानहरूमा थप १००% आयात कर लगाउने चेतावनी दिएपछि लगानीकर्ताहरू आत्तिएका थिए। सो कर नोभेम्बर १ देखि लागू गर्ने तयारी गरिएको थियो, जसले चीनबाट आयात हुने सामानहरूमा कुल करदर १३०% पुर्‍याउने बताइएको थियो — जुन दर व्यापार युद्धको चरम समयमा लागू १४५% करसँग नजिक थियो।

शुक्रबारको कारोबारमा एसएन्डपी ५०० र नास्ड्याकले अप्रिलपछि सबैभन्दा खराब दिन अनुभव गरे भने डाउ जोन्सले मे महिनापछि सबैभन्दा ठूलो गिरावट बेहोरेको थियो।

तर आइतबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Social मा “सब ठीक हुनेछ” भनेर लेखेपछि बजारमा पुनः सकारात्मक संकेत देखा पर्‍यो। उनले Air Force One मा पत्रकारहरूसँग कुरा गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई “महान नेता” भन्दै दुबैबीच “उत्कृष्ट सम्बन्ध” रहेको बताए।

यो टिप्पणी गत हप्ताको ट्रम्पकै भनाइसँग विपरीत देखियो, जब उनले चीनलाई “शत्रुतापूर्ण हुँदै गएको” बताएका थिए। चीनले केही दिनअघि दुर्लभ धातुहरूको निर्यातमा प्रतिबन्ध कडा गरेपछि अमेरिका–चीनबीच पुनः तनाव चर्किएको थियो।

यसैबीच, चीनको वाणिज्य मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ — “हामी व्यापार युद्ध चाहँदैनौं, तर डराउँदैनौं पनि।” चीनले चेतावनी दिंदै भनेको छ, “यदि अमेरिकाले ट्यारिफ धम्की फिर्ता लिएन भने प्रतिवन्धात्मक कदम चालिनेछ।”

विश्लेषकहरूले चेतावनी दिएका छन् कि यदि अर्को ‘टिट–फर–ट्याट’ (एकअर्कामा प्रत्युत्तर स्वरूप कर) युद्ध सुरु भयो भने दुवै देशबीचका महिनौंको कूटनीतिक प्रगतिलाई नष्ट गर्न सक्छ।

ट्रम्पले पत्रकारहरूलाई भने, “नोभेम्बर १ को मिति नजिकिँदैछ, हेरौं के हुन्छ।”

यसैबीच, Fox News को ‘The Sunday Briefing’ कार्यक्रममा अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले भनेका छन्, “चीनले निर्यात प्रतिबन्ध कडा गर्ने निर्णयको बारेमा अमेरिकालाई पहिले जानकारी दिएको थिएन।” तर चीनको वाणिज्य मन्त्रालयले “संबन्धित देशहरूलाई सूचित गरिएको” दाबी गरेको छ।

शेयर बजारका विश्लेषकहरूले भने ट्रम्पको पछिल्लो सकारात्मक सन्देशले बजारमा केही राहत ल्याएको बताएका छन्, तर आगामी नोभेम्बर १ को ट्यारिफ निर्णयले फेरि बजारलाई हल्लाउन सक्ने चेतावनी दिएका छन्।

बजार सूचकांक (हालको स्थिति):

DOW: 45,479.60 (+1.90%)

S&P 500: 6,552.51 (+2.71%)

NASDAQ: 22,204.43 (+3.56%)

Fear & Greed Index:

29 (लगानीकर्तामा अझै डरको प्रभाव)

प्रतिक्रिया