काठमाडौं, माघ २० - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा-५ का उम्मेदवार बालेन शाहले मन्त्री र सांसदको तलबलाई लिएर देश डुबेको भन्ने भ्रम फैलाइएको टिप्पणी गरेका छन्। झापा जिल्लाको कमल गाउँपालिकामा स्थानीयसँगको प्रत्यक्ष संवादका क्रममा उनले संघीय प्रदेश संरचनाको खर्च अपेक्षाकृत न्यून रहेको स्पष्ट पारे।
स्थानीयले प्रदेश संरचना खारेज गरे शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट जुट्ने तर्क राखेपछि शाहले जवाफमा भने, “प्रदेश संरचनामा न्यून खर्च छ। मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन।” उनका अनुसार समस्या संरचना होइन, स्रोतको व्यवस्थापन र प्राथमिकताको गलत अभ्यास हो।
खाडी मुलुकमा दुई दशक बिताएर फर्किएका एक स्थानीयले स्वदेशमै लगानी गर्न नसकेको अनुभव सुनाउँदै शिक्षा र स्वास्थ्य नि:शुल्क हुन सक्ने-नसक्ने प्रश्न उठाएका थिए। त्यसमा शाहले यथार्थपरक धारणा राख्दै भने, “संविधानमा शिक्षा नि:शुल्क भनेर लेखिएको छ, तर बजेट छैन। खल्तीमा पैसा नहुनेले पनि शिक्षा र स्वास्थ्य पाउनुपर्छ, खल्तीमा पैसा हुनेले व्यापार गर्न पाउनुपर्छ।”
उनले विपन्न तथा कमजोर वर्गका विद्यार्थीका लागि लक्षित सहायताहरू निरन्तर जारी रहेको उल्लेख गर्दै सम्पूर्ण सेवा एकैपटक नि:शुल्क बनाउनेभन्दा पनि सहुलियतपूर्ण र न्यायसंगत पहुँच नै अहिलेको व्यवहारिक बाटो भएको बताए।
युवा हरुको आकर्षक र आशाको रूपमा बालेन शाहको भनाइले संघीय संरचना र सार्वजनिक खर्चबारे चलिरहेको बहसमा भावनाभन्दा तथ्य र प्राथमिकतामा आधारित बहस आवश्यक रहेको सन्देश दिएको छ।उनले बलिदानका आधारमा होइन योगदानका आधारमा राजनीति गर्न सुझाव दिएका छन्।