काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार आयोजना हुने भएको छ।
पार्टीका नवनिर्वाचित सचिव डा. राजन भट्टराईका अनुसार बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ। हालै सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो।
महाधिवेशनपछि निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरिसकेका छन्। अब बस्ने पहिलो बैठकले पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशा तय गर्ने अपेक्षा गरिएको छ। विशेषगरी पोलिटब्युरो र स्थायी कमिटी गठन, कार्ययोजना निर्माण तथा संगठन सुदृढीकरणका विषय बैठकको मुख्य एजेन्डा रहनेछन्।
तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीको नेतृत्वमा पार्टीले नयाँ ऊर्जा र गति लिने एमाले नेताहरूको विश्वास छ।