इतिहासको कठघरामा कांग्रेस : बीपीका उत्तराधिकारीलाई अपिल– 'विभाजनको आत्मघात होइन, एकता र रूपान्तरणको साहसिक बाटो रोजौँ'

ecopolinews.com

सृजना बुर्लाकोटी (नगर उपप्रमुख तारकेश्वर नगरपालिका)

नेपाली राजनीतिको उकुसमुकुसपूर्ण आकाशमा जब–जब संकटका काला बादलहरू मडारिन्छन्, तब–तब नेपाली कांग्रेसले देशलाई सही दिशा निर्देश गर्ने अविचलित प्रकाश–स्तम्भका रूपमा आफूलाई उभ्याएको छ । वि.सं. २००७ सालको युगान्तकारी क्रान्ति होस्, २०४६ सालको जनआन्दोलन होस् वा २०६२/०६३ को ऐतिहासिक लोकतान्त्रिक परिवर्तन, हरेक संगीन मोडमा कांग्रेसको रुखले नै मुलुकलाई न्याय, स्वतन्त्रता र लोकतन्त्रको शीतल छहारी प्रदान गरेको छ । यो विशाल वृक्ष रातारात उभिएको होइन । यसका जराहरू अत्यन्तै गहिरा छन्, जहाँ जननायक बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई र त्यागी नेता महेन्द्रनारायण निधि जस्ता मुर्धन्य व्यक्तित्वहरूको रगत, पसिना र त्याग सिञ्चित छ ।

तर, आज इतिहासको एउटा यस्तो संवेदनशील र अत्यासलाग्दो घडी आइपुगेको छ, जहाँ देशलाई उज्यालो देखाउने कांग्रेस आफैं आन्तरिक संकटको भयानक भुमरीमा फसेको छ । विशेष महाधिवेशनपछि विकसित घटनाक्रम, निर्वाचन आयोगको वैधानिक निर्णय, सर्वोच्च अदालतको आदेश र त्यसलाई चुनौती दिँदै संस्थापन इतर समूहभित्र भइरहेका नयाँ पार्टी गठनसम्मका आन्तरिक रणनीतिहरूले हरेक सच्चा लोकतन्त्रवादीको मुटुमा चिसो पसाएको छ । साउनको अन्तिम साताका लागि तय गरिएको भनिएको राष्ट्रिय भेला र देशभरका निर्वाचन क्षेत्रमा समानान्तर गतिविधि गर्ने तयारीले हामीलाई एउटा गम्भीर प्रश्नको कठघरामा उभ्याएको छ– के हामी आफ्नै घरमा आगो लगाएर खरानीको न्यानो ताप्ने आत्मघाती बाटोतर्फ त अग्रसर भइरहेका छैनौँ ?

मेलमिलापको त्यो स्वर्णिम इतिहास र आजको विडम्बना

हामीले आजको बाटो तय गर्नुअघि इतिहासको त्यो स्वर्णिम पृष्ठलाई पल्टाउनै पर्छ, जसले नेपाली कांग्रेसको प्राणतत्व बोकेको छ । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठ्दै शासन आफ्नो हातमा लिएर बीपी कोइरालालगायतका नेताहरूलाई जेल हाले । राजनीतिक दलहरूमाथि प्रतिबन्ध मात्र लागेन, प्रजातन्त्रका योद्धाहरूमाथि देशद्रोहको संगीन मुद्दासमेत लगाइयो । तर, समयको चक्रसँगै जब राष्ट्रियतामाथि गम्भीर संकट आइलाग्यो, बीपी कोइरालाले व्यक्तिगत प्रतिशोध र फाँसीको फन्दालाई लत्याउँदै २०३३ साल पुस १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ को युगान्तकारी नीति अंगाल्दै स्वदेश फर्किने अदम्य साहस गर्नुभयो ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उहाँहरूले भारतको निर्वासित जीवन त्याग्नुभएको थियो । दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन दृढ संकल्पित ती नेताहरूले ‘देश रहे मात्र राजनीति रहन्छ’ भन्ने शाश्वत सत्यलाई शिरोधार्य गरे । व्यक्तिगत पीडाभन्दा राष्ट्रको अस्तित्व ठूलो हो भन्ने बुझेरै राजासँग समेत मिल्नुपर्ने धारणा अघि सारियो । त्यही मेलमिलापकै जगमा उभिएर पछि गणेशमान सिंहको कमान्डमा कम्युनिस्टहरूलाई समेत एउटै मञ्चमा ल्याई २०४६ सालको जनआन्दोलन सफल पारियो ।

आज समयले कांग्रेसको वर्तमान नेतृत्वलाई एउटा निर्मम प्रश्न सोधिरहेको छ । जुन कांग्रेसका संस्थापकहरूले देश र लोकतन्त्र बचाउन हिजोका कट्टर दुश्मन र विपरित विचारधारा भएकाहरूसँग त वार्ता र मेलमिलाप गर्न सक्थे भने, आजका कांग्रेसजन आफ्नै हितैषी, ऊर्जावान् र क्रान्तिकारी युवा पुस्तासँग किन मिल्न सकिरहेका छैनन् ? राजा महेन्द्रसँग संवादको ढोका बन्द नगर्ने बीपीका उत्तराधिकारीहरू आज आफ्नै घरभित्रका सहयात्रीसँग एउटै टेबलमा बस्न किन हिचकिचाइरहेका छन् ? यो सामान्य वैचारिक विचलन होइन, यो त इतिहासप्रतिको गम्भीर बेइमानी हो ।

विरासतको भारी : शालिकका सन्तानहरूलाई इतिहासको प्रश्न

अहिलेको इतर समूहको तर्क छ– जैविक र वैचारिक कांग्रेसका असली हकदारहरू एकै ठाउँमा छन् । बीपी कोइरालाका उत्तराधिकारी डा. शशांक कोइराला, गणेशमान सिंहका उत्तराधिकारी प्रकाशमान सिंह, महेन्द्रनारायण निधिका उत्तराधिकारी विमलेन्द्र निधि, किसुनजीका अनुयायी पूर्णबहादुर खड्का र अन्य पाका नेताहरू डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखकदेखि कृष्णप्रसाद सिटौलासम्मको बलियो 'ब्रान्ड' आफूसँग रहेको उहाँहरूको दाबी छ ।

तर, के यो गौरवशाली ‘ब्रान्ड’ पार्टी विभाजनको औजार बन्नका लागि हो ? के बीपी, गणेशमान र किसुनजीका शालिकहरूले आफ्ना सन्तानलाई पार्टी छिन्नभिन्न पार्न छुट दिएका छन् ? पक्कै छैनन् । डा. शशांक कोइराला र प्रकाशमान सिंह जस्ता शालिन व्यक्तित्वहरू कांग्रेस विभाजनको मतियार वा फड्के किनाराको साक्षी मात्र बन्न इतिहासले कदापी माफ गर्ने छैन । उहाँहरूलाई इतिहासले केवल एउटा वंश वा पारिवारिक पदवी मात्र दिएको छैन, सिङ्गो लोकतन्त्रलाई जोड्ने गम्भीर नैतिक जिम्मेवारी सुम्पेको छ । महान् नेता नेल्सन मन्डेलाले भनेका थिए– ‘यदि तपाईं शान्ति चाहनुहुन्छ भने आफ्ना शत्रुसँग काम गर्नुपर्छ ।’ यहाँ त शत्रु होइन, आफ्नै पार्टीका भाइबन्धु र भविष्यका कर्णधारहरूसँग सहकार्य गर्नुछ । महाधिवेशन र त्यसपछिका असन्तुष्टिहरूलाई राजनीतिक परिपक्वताबाट हल गर्न सकिन्छ, तर यसैलाई प्रतिष्ठाको लडाइँ बनाएर छुट्टै चुलो बाल्ने धृष्टता गर्नु भनेको आफ्नै जरा काट्नु हो ।

जनमत, न्यायालय र रूपान्तरणको शंखघोष

हामीले आजको यथार्थलाई पनि खुल्ला हृदयले स्वीकार गर्नुपर्छ । नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णयलाई गत वैशाख ४ गते सर्वोच्च अदालतको संयुक्त इजलासले सदर गरिसकेको छ । कानुनी र संवैधानिक रूपमा यो विषय अब स्थापित भइसकेको छ । लोकतन्त्रको सबैभन्दा ठूलो सौन्दर्य भनेको विधिको शासनलाई मान्नु हो । अदालतको ढोका ढकढक्याउनु मात्र लोकतन्त्र होइन, अदालतले दिएको फैसलापछि आफ्नै अहंकारको ढोका खोलेर सत्यलाई स्वीकार गर्नु उच्च राजनीतिक संस्कार हो । अब यसलाई इगोको विषय बनाएर निरन्तर मुद्दा–मामिलामा अल्झिरहनुले पार्टीलाई ऊर्जाहीन र कमजोर मात्र बनाउनेछ ।

गगन थापा र उहाँको टिमले विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व सम्हाल्नु कुनै आकस्मिक दुर्घटना वा प्राविधिक जित मात्र होइन । यो त पार्टीभित्र लामो समयदेखि थुनिइरहेको ‘पुस्तान्तरण’ र ‘रूपान्तरण’को शक्तिशाली ज्वालामुखीको विस्फोट हो । आज देशमा ‘जेनजी’ (Gen-Z) आन्दोलन र युवाहरूको नयाँ लहर चलिरहेको बेला, पुरानै शैली, ढर्रा र चिन्तनबाट कांग्रेस अगाडि बढ्नै सक्दैन । युवा पुस्ताको ढुकढुकी बनेका गगन थापाको नेतृत्वलाई सहज रूपमा स्वीकार गर्नु र उहाँको ऊर्जालाई पुराना नेताहरूको अगाध अनुभवसँग जोड्नु नै आजको एक मात्र बुद्धिमानी हो । नेतृत्व परिवर्तन हुँदैमा संस्था मर्दैन, बरु नयाँ रगतको सञ्चारले संस्था थप जीवन्त बन्छ भन्ने सत्यलाई अग्रजहरूले बुझ्न ढिला गर्नु हुँदैन ।

समयको पुकार : अहंकारको चितामा होइन, समझदारीको चौतारीमा उभियौँ

इतिहास साक्षी छ– फुटेका कांग्रेसहरू कहिल्यै बलिया भएका छैनन्, तर एकताबद्ध कांग्रेसले जस्तोसुकै आँधीबेहरीको पनि सामना गरेको छ र राष्ट्रलाई निकास दिएको छ । आज देश सहज अवस्थामा छैन । लाखौं युवाहरू विदेशिइरहेका छन्, अर्थतन्त्र चरम दबाबमा छ, र आम जनतामा परम्परागत राजनीतिक दलहरूप्रति भयानक निराशा चुलिएको छ । यस्तो संवेदनशील बेलामा कांग्रेस आफैं घरझगडामा अल्झियो र विभाजित भयो भने, त्यसले केवल एउटा पार्टीलाई मात्र सिध्याउने छैन, नेपालको सम्पूर्ण लोकतान्त्रिक आन्दोलन र समृद्धिको जगलाई नै ध्वस्त पार्नेछ ।

त्यसैले, अग्रज नेताहरूप्रति आम कार्यकर्ताको एउटै विशेष अपिल छ– आफ्ना पिताहरू बीपी र गणेशमानले झैँ संकटको यो घडीमा व्यक्तिगत महत्वाकांक्षा र गुटगत स्वार्थभन्दा निकै माथि उठ्नुहोस् । विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला लगायतका नेताहरूको खार्पिएको अनुभवको सबैभन्दा ठूलो उपयोग नयाँ पार्टी खोल्न वा समानान्तर कमिटी चलाउनमा होइन, बरु कांग्रेसलाई फेरि एउटै शक्तिशाली छानामुनि गोलबद्ध गर्नमा हुनुपर्छ ।

राजनीतिमा सबैभन्दा ठूलो विजय सधैं चुनाव वा पद जित्नु मात्र हुँदैन, कहिलेकाहीँ आफ्नै अहंकारमाथि विजय हासिल गर्नु सबैभन्दा ठूलो राजकाज बन्न पुग्छ । बीपी कोइरालाले जीवनभर हामीलाई एउटा अमोघ मन्त्र दिनुभयो– ‘राष्ट्र पहिले, व्यक्ति पछि ।’ आज त्यसलाई अझ सान्दर्भिक बनाएर सिंगो कांग्रेस पंक्तिले भन्नुपर्ने बेला आएको छ– ‘कांग्रेस पहिले, गुट पछि । विचार र विधान पहिले, पद पछि । इतिहासको सम्मान पहिले, व्यक्तिगत अहंकार पछि ।’

आउनुहोस्, इतिहासका गल्तीहरूबाट पाठ सिकौँ । बीपीको तस्बिर बोकेर कांग्रेस नफुटाऔँ, बीपीको विचार पढेर कांग्रेसलाई जोडौँ । गणेशमानको त्याग सम्झेर गुट होइन, संगठन बलियो बनाऔँ । नयाँ पुस्ताको ऊर्जा र अग्रजहरूको मार्गदर्शन एकै ठाउँमा उभियो भने मात्र यो लोकतन्त्रको रुखका जराहरू सुरक्षित रहनेछन् । किनभने, बलियो र एकताबद्ध कांग्रेस नै सुरक्षित लोकतन्त्रको ग्यारेन्टी हो, र सुरक्षित लोकतन्त्र नै समृद्ध नेपाल निर्माणको एक मात्र भरोसा हो ।

प्रतिक्रिया