घनश्याम भुसालले किन छाडे पुरानै पार्टी? ‘नेकपा वामपन्थी केन्द्र’ दर्ता गर्दै नयाँ राजनीतिक खेलको सुरुवात!

ecopolinews.com

नेकपा (एकीकृत समाजवादी) का संयोजक घनश्याम भुसालले आफ्नो राजनीतिक टिमलाई नयाँ मोड दिएको छ। आगामी निर्वाचनलाई लक्ष्य गर्दै उनले ‘नेकपा वामपन्थी केन्द्र’ (नेकपा वाके) नामको पार्टी दर्ता गर्ने तयारी पूरा गरेका छन्। आयोगले माग गरिएको ‘सूर्यमुखी फूल’ चुनाव चिह्न आजै दिन सक्ने संकेत पाएपछि भुसाल समूह उत्साहित बनेको छ।

केन्द्रीय सदस्य योगेन्द्र बस्नेत (अमृत सागर) का अनुसार, “आजै दल दर्ताको प्रमाणपत्र आउँछ। हामी आयोगमै छौँ। नेकपा एसका धेरै नेताहरू यही नयाँ पार्टीबाट निर्वाचनमा जाने तयारीमा छन्।”

कानुनी व्यवस्थाका कारण एक वर्षसम्म ‘नेकपा एस’ र यसको चुनाव चिह्न ‘कलम’ प्रयोग गर्न नपाउने बाध्यता बढेपछि भुसाल समूह नयाँ पार्टीमार्फत चुनावमा जाने रणनीतिमा पुगेको हो। माओवादी केन्द्रसँग भएको एकतापछि भुसाल पक्षले पुनः नेकपा एस पुनर्गठन गरे पनि पुरानै चिह्न र नाम प्रयोग रोकिएपछि नयाँ विकल्प खोज्नु पर्‍यो।

बस्नेतका अनुसार, निर्वाचनपछि घनश्याम भुसाल नेतृत्वको मूल संरचना र ‘नेकपा वाके’ बीच एकता गरिने छ। उनले भने, “दाइ अहिले प्रत्यक्ष पार्टीमा छैनन्। तर दाइको सल्लाहमै हामीले यो पार्टी दर्ता गरेका हौँ। चुनावपछि एकतासहित अघि बढ्छौँ।”

यसैबीच, दर्ता हुन लागेको नेकपा वामपन्थी केन्द्र (वाके) को प्रारम्भिक नेतृत्व टिम पनि सार्वजनिक भएको छ—

नेकपा वाके टिम

1. संयोजक – राजकुमार कक्षपति

2. सह–संयोजक – नन्द बन्जाडे

3. योगेन्द्र बस्नेत (अमृत सागर)

4. सुस्मा राई

5. जानुका श्रेष्ठ

6. समीर गौतम

7. नरेश न्यौपाने

8. प्रकाश श्रेष्ठ

9. प्रेमबहादुर तारामी

भुसालको नयाँ राजनीतिक कदमले नेपाली वाम राजनीतिमा नयाँ समीकरणको संकेत दिएको छ। आगामी निर्वाचनमा यो नयाँ संरचना कति प्रभावशाली बन्नेछ? सबैको ध्यान अहिले यतै केन्द्रित छ।

प्रतिक्रिया