प्रधानमन्त्री कार्कीद्वारा सुरक्षा निकायलाई संवेदनशील परिस्थितिमा जिम्मेवार रहन निर्देशन

ecopolinews.com

काठमाण्डौ - देशको पछिल्लो शान्ति–सुरक्षा अवस्थाबारे मूल्याङ्कन गर्न प्रधानमन्त्री सुशीला कार्कीले शनिबार गृहमन्त्री ओमप्रकाश अर्यालसहित चारै सुरक्षा निकायका प्रमुखहरूसँग दुई घण्टा लामो उच्चस्तरीय बैठक गर्नुभयो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रमुखहरूले आ–आफ्नो मूल्याङ्कन प्रस्तुत गर्दै देशभर देखा परिरहेका सुरक्षा चुनौतीका बारेमा जानकारी गराएका थिए।

बैठकपछि गृहमन्त्री अर्यालले केही समूहहरूले प्रदर्शनको तयारी गरिरहेको संवेदनशील जानकारी प्राप्त भएकाले त्यसको सूक्ष्म विश्लेषण भइरहेको बताउनुभयो। उहाँले राजनीतिक मागका विषयमा सरकार संवादका लागि सधैं तयार रहेको र समाधानको बाटो वार्तामार्फत नै खोजिनुपर्नेमा जोड दिनुभयो।

प्रधानमन्त्री कार्कीले देशको वर्तमान संवेदनशीलतालाई मध्यनजर गर्दै सबै सुरक्षा निकायका प्रमुखहरूलाई अत्यधिक जिम्मेवारीका साथ काम गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा वर्तमान परिस्थितिको गम्भीर मूल्याङ्कनपछि आवश्यक सुरक्षा कदम चाल्न बैठक बसेको उल्लेख गरिएको छ।

प्रतिक्रिया