सत्य लेख्न आग्रह, तर प्रश्नबाट उम्किन खोज्ने ओली

ecopolinews.com

कात्तिक २, २०८२ | एमाले अध्यक्ष केपी शर्मा ओली ‘संवाद’ कार्यक्रममा उपस्थित थिए — तर नदेखिएका एक मात्र पात्र बने, जब प्रश्नहरूको घेराभित्र उनले आफ्ना दाबीहरूलाई ‘सिम्बोलिक’ भन्दै उम्किने प्रयास गरे।

२३ भदौ गोलीकाण्ड: सहानुभूति होइन, आरोपको भट्टराई

पत्रकारले जब २३ भदौमा मारिएका युवाप्रति श्रद्धाञ्जली र परिवारको न्यायका मागबारे प्रश्न गरे, ओलीले भावनात्मक सहानुभूति त जनाए— “म पनि दुखित छु”— तर जिम्मेवारहरूमाथि कारबाही हुनुपर्ने मागलाई भने ‘भड्काइएका मानिसहरूको सिकाइ’ भन्दै अस्वीकार गरे।

‘उनीहरूले यस्तो कुरा भन्नै सक्दैनन्, अरूले सिकाएका हुन्,’ ओलीले दाबी गरे।

तर, पत्रकारहरूले प्रतिप्रश्न गर्दा उनले कुनै ठोस प्रमाण प्रस्तुत गर्न सकेनन्।

‘सेक्युरिटी खोस्ने सरकारले गल्ती गर्‍यो’

गुण्डुमा बसोबास गरेपछि पटक–पटक आफूमाथि आक्रमणको योजना बनेको र सरकारले आफ्ना सुरक्षाकर्मी फिर्ता लिएर मेयर र वडाध्यक्षलाई सुरक्षा दिएको भन्दै ओलीले रोष प्रकट गरे।

तर, “कुन वडाध्यक्षलाई सुरक्षा दिइएको हो?” भन्ने प्रश्न उठ्दा ओलीले जवाफ दिए—

‘मैले त्यो कुरा सिम्बोलिक रूपमा भनेको हुँ।’

पत्रकारहरूले दोहोर्‍याए— ‘तर तपाईंले त ठोस रूपमा दाबी गर्नुभएको थियो।’

ओलीले फेरि पनि उम्कन खोजे— ‘जसले दिएको हो, उसैसँग सोध्नुहोस्।’

नेतृत्व प्रश्नमा हठी र आत्मविश्वासी ओली

सम्पादकहरूले जब ‘एमालेमा नेतृत्व हस्तान्तरण’ विषय उठाए, ओलीले प्रतिप्रश्न गरे—

‘तपाईंहरू सम्पादक हुनुहुन्छ, अर्को सम्पादक बनाउन कसैले सोध्छ र?’

उनले आफू अझै सक्षम र आवश्यक नेता भएको दाबी गरे—

‘अहिले उपयुक्त क्याप्टेन केपी ओली नै हो,’ उनले भने, ‘मसँग अनुभव, योग्यता र क्षमता तीनै छन्।’

ओलीले आफ्नो उमेरलाई तुलनामा ल्याउँदै विश्व नेताहरूको उदाहरण दिए—

‘अमेरिकामा ८० वर्षीय राष्ट्रपति छन्, भारतमा ७६ वर्षका प्रधानमन्त्री छन्। चीन र रुसका नेताहरू पनि मभन्दा कान्छा छन्,’ उनले भने, ‘त्यसैले म पनि फिट छु।’

राष्ट्रपति पौडेलमाथि असन्तुष्टि

अन्तरिम प्रधानमन्त्री चयनमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको पहलप्रति ओलीले असहमति जनाए।

‘मैले गरेको सिफारिस निर्णायक हुनुपर्थ्यो,’ उनले भने, ‘सुशीला कार्कीको नाम मैले सिफारिस गरेको होइन।’

प्रचण्डले देखाएको ‘कागज हेरेको’ दाबीप्रति उनले व्यङ्ग्य गर्दै भने—

‘उहाँ मेरो शुभचिन्तक हुनुहुन्छ होला, कागज छ भने देखाउनुस्।’

२३ भदौ र २४ भदौबीचको सन्दर्भ जोड्ने प्रयास

ओलीका अनुसार २३ भदौको घटना २४ भदौका घटनाको पूर्वयोजना थियो।

‘घुसपैठका कारण त्यो घटना भयो,’ उनले दाबी गरे, ‘कलिला बालबालिकालाई अघि लगाएर संसद भवनतिर पुर्‍याइयो।’

तर, गृहमन्त्री रमेश लेखकसँगको प्रत्यक्ष संवाद, आदेशको सन्दर्भ वा जिम्मेवारीबारे उनले स्पष्ट खुलासा गरेनन्।

‘म सही थिएँ, अहिले पनि सही नै छु’

कार्यक्रमको प्रारम्भमा ओलीले ‘शान्ति, सुव्यवस्था, समानता र सम्मानजनक जीवन’ आफ्ना आदर्श भएको बताए।

‘म सदैव सही थिएँ,’ भन्ने भाव उनीभित्र प्रस्ट झल्किन्थ्यो।

सम्पादकहरूले राखेका तीखा प्रश्नपछि पनि उनले आत्मालोचना गर्ने सट्टा भने—

‘बरु तपाईंहरू सम्पादकहरूले आत्मालोचना गर्नुभएको होला।’

‘फेरि ओली नै फर्किन्छन्’ भन्ने आत्मविश्वास

अन्त्यमा उनले सरकारमाथि आरोप लगाए—

‘सरकारले मलाई आफ्नै घर हेर्न, ९४ वर्षीय बुबालाई भेट्न रोकेको छ।’

त्यो परिस्थितिले जनतामा सहानुभूति बढाउने र आफू सत्तामा फर्किने सम्भावना बढ्दै गएको उनले दाबी गरे।

‘अब तपाईंहरू सम्पादकहरूले पनि लेख्न थाल्नुहुनेछ— ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्छ,’ उनले मुस्कुराउँदै भने।

नेपाल खबर सहितको परिमार्जन

प्रतिक्रिया