जेन-जी आन्दोलनमा सबैभन्दा ठूलो उपस्थिति रास्वपाको : प्रवक्ता मनिष झा

ecopolinews.com

७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जेन-जी आन्दोलनमा आफ्नो पार्टीका कार्यकर्ता र नेताहरूको उल्लेख्य उपस्थिति रहेको दाबी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपाका केन्द्रीय सदस्यदेखि सामान्य कार्यकर्ता सम्म आन्दोलनमा सक्रिय रुपमा सहभागी भएको उल्लेख गर्दै भने,

“सम्भवत: अरु पार्टीको तुलनामा संख्यात्मक र प्रतिशतगत रुपमा हाम्रो उपस्थिति सबैभन्दा बढी थियो।”

उनका अनुसार पार्टीले औपचारिक रूपमा झण्डा बोकेर वा अगुवाइ गर्दै आन्दोलनमा सहभागी नभए पनि व्यक्तिगत हैसियतमा सदस्यहरू सडकमा उत्रिएका थिए।

पूर्व केन्द्रीय सदस्य सुमना श्रेष्ठ, केन्द्रीय सदस्य गणेश कार्की, कान्तिशिखा लगायतले आन्दोलनमा अग्रसर भूमिका खेलेको उनले बताएका छन्। साथै, प्रतिनिधिसभाको सचेतक समेत जेन-जी पुस्ताबाटै रहेको भन्दै उनले रास्वपा भित्र जेन-जी पुस्ताको उपस्थिति प्रस्ट भएको स्मरण गराए।

झाले भने, “२४ गतेको घटनामा भने हाम्रो कुनै सहभागिता थिएन। पार्टीले त्यस दिनका लागि कुनै आह्वान गरेको थिएन।”

उनले स्पष्ट पारेका छन् कि रास्वपाले आन्दोलनलाई आफ्नो पार्टीगत आन्दोलनको रूपमा कहिल्यै दाबी नगरेको तर व्यक्तिगत संलग्नतामा पार्टीकै सदस्यहरूको उपस्थिति उल्लेखनीय रहेको तथ्यलाई नकार्न नसकिने छ।

प्रतिक्रिया