काठमाडौं । भदौ २३ र २४ गते देशभर भएको तोडफोड र आगजनी घटनामा आफ्नो नाम जोडिएपछि चर्चित कलाकार दीपकराज गिरीले स्पष्ट प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै गिरीले आफू कुनै पनि तोडफोड वा हिंसात्मक गतिविधिमा संलग्न नभएको दाबी गरेका छन्।
उनले लेखेका छन् —
“देशमा भएको त्यो तोडफोड र आगजनीमा मेरो सहभागिता छैन। यदि प्रमाणित हुन्छ भने हदैसम्मको कारबाहीको लागि तयार छु।”
हाल गिरीको एउटा तस्वीर सामाजिक सञ्जालमा ती घटनासँग जोडेर भाइरल बनाइएको छ। उक्त तस्वीर आफ्नो नै भएको स्वीकार गर्दै उनले भनेका छन् कि त्यस समयमा आफू केवल सडक हुँदै बानेश्वरमा हुँदै सर्वपक्षीय छलफलमा जान लागेका थिए।
गिरीका अनुसार,
“त्यो दिन गणेश कार्की भाइले फोन गरेर सर्वपक्षीय सानो भेला छ भनेर बोलाउनुभएको थियो। म घरबाट निस्किँदा बाहिर सामान्य तोडफोड सुरु भइसकेको थियो। बाटोमा एउटा घरमा केही केटाहरू तोडफोड हेरिरहेका थिए, मलाई देखेर हात हल्लाए, फोटो पनि खिचे, त्यति मात्र भयो। अहिले त्यसै फोटोमा कथा बुनेर भाइरल बनाइयो।”
उनले थप स्पष्ट पारे —
“पछिपछि तोडफोड र आगजनी बढेपछि हामीले उल्टै ‘तोडफोड नगरौँ, राष्ट्रको सम्पत्ति जोगाऔँ’ भन्ने भिडियो बनाएका थियौँ। त्यसपछि सामाजिक सञ्जालमा निरन्तर शान्ति र संयमका सन्देश लेखिरहेँ। ती स्ट्याटसहरू आज पनि साक्षी छन्।”
गिरीले आन्दोलन र आगजनीबीचको फरक पनि स्पष्ट पारेका छन्। उनका अनुसार,
“वास्तवमा त्यो आन्दोलन परिवर्तनको स्वर थियो, तर त्यसमा पछि स्वार्थी समूह र दलका मान्छे घुसेर विध्वंसको रूप दिन खोजियो।”
अन्त्यमा उनले पुनः दोहोर्याए —
“म कुनै समूहमा आवद्ध कलाकार होइन। देशमा भएको तोडफोड र आगजनीमा मेरो कुनै संलग्नता छैन। यदि मेरो संलग्नता प्रमाणित हुन्छ भने, हदैसम्मको कारबाहीका लागि म तयार छु।”