रविन्द्र कट्टेल
राष्ट्रपति र संविधान निलम्बन गरेर अन्तरिम सरकार घोषणा गर्नुपर्ने माग, ‘जेन–जी आन्दोलनको बलिदान पुरानो व्यवस्थाले सम्मान गर्न सक्दैन।
काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईँले देश जोगाउने ऐतिहासिक जिम्मेवारी अब नेपाली सेनाको काँधमा आएको दाबी गरेका छन्। उनका अनुसार वर्तमान राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर मात्र राष्ट्रलाई स्थिरताको बाटोमा लैजान सकिने छ।
प्रसाईँले आफ्नो फेसबुकमा लेख्दै भनेका छन्, “संविधान यही ? संसद यही ? राष्ट्रपति यही ? व्यवस्था यही ? यदि सबै यही हो भने आन्दोलन किन भयो ? निर्दोष जेन–जी युवाको हत्या किन भयो ? राज्यको ५० खर्बभन्दा बढी सम्पत्ति किन नाश भयो ? रगत र आँसुको हिसाब कसले गर्ने ?”
उनले संसारभरिका सफल आन्दोलनहरूले कहिल्यै पुरानो संविधानलाई आधार नबनाएको स्मरण गर्दै नयाँ संविधानमार्फत नयाँ व्यवस्था जन्मिनै पर्ने तर्क गरेका छन्।
प्रसाईँले जोड दिए, “राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ। नत्र हाम्रो पुस्ता सरापिनेछ, र देशमै बसाइ नहुने दिन आउन सक्छ।”
जानकारी अनुसार उनले हिजो दिनभर प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगी अड्डामा विस्तृत वार्ता गरेका थिए।