बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेतद्वारा ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता — “सबै मिलौं, देश बचाऊँ, देश बनाऊँ” नारा सहित नयाँ राजनीतिक यात्रा सुरु

ecopolinews.com

काठमाडौं । नेपालका सफल व्यवसायी तथा बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले नयाँ राजनीतिक दल ‘गतिशील लोकतान्त्रिक पार्टी’ स्थापना गरेका छन्। बिहीबार निर्वाचन आयोगमा ५०७ नम्बरमा दर्ता भएको यो दलले मुलुकलाई नयाँ दिशा दिन ‘गतिशील सोच र लोकतान्त्रिक मूल्य’लाई मुख्य मार्गदर्शन बनाउने बताइएको छ।

दलका अध्यक्षमा प्राध्यापक दिनेश प्रसाईँ नियुक्त भएका छन्, जो लामो समयदेखि पर्यटन व्यवसाय र समाजशास्त्र क्षेत्रमा सक्रिय रहँदै आएका चर्चित व्यक्तित्व हुन्। त्यस्तै, महामन्त्रीमा पियूस कायस्त रहेका छन्, जसले विभिन्न अन्तर्राष्ट्रिय संस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए।

बस्नेत स्वयं हालका लागि दलका साधारण सदस्यको भूमिकामा रहेका छन्। व्यवसायिक व्यस्तताका कारण तत्काल नेतृत्व नलिएको उनले स्पष्ट पारेका छन्।

‘सबै मिलौं, देश बचाऊँ, देश बनाऊँ — भदौ २४ ले देखाएको सम्भावना’ भन्ने मूल नारासहित अगाडि बढेको यस दलले छोटो समयमै नयाँ राजनीतिक विकल्पको रुपमा स्थापित हुने दाबी गरेको छ।

बस्नेतका अनुसार, राजनीतिलाई पेसाका रुपमा लिने प्रवृत्तिका कारण मुलुक पछाडि परिरहेको भन्दै अब व्यवसायी, प्राविधिक र पेशेवर वर्गले नेतृत्वमा आउनुपर्ने समय आएको उल्लेख गरिएको छ। उनले भने,

 “राजनीति सेवा हो, व्यापार होइन। देशको पुनर्जागरणका लागि अब जिम्मेवार नागरिक अघि बढ्नुपर्छ।”

गतिशील लोकतान्त्रिक पार्टीले आगामी दिनमा सशक्त संगठन विस्तार, नीतिगत स्पष्टता र नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने अभियान सञ्चालन गर्ने बताइएको छ।

प्रतिक्रिया