गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको औपचारिक मान्यता

ecopolinews.com

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको नेतृत्व विवाद टुंग्याउँदै गगनकुमार थापालाई पार्टीको आधिकारिक सभापतिका रूपमा मान्यता दिएको छ। आयोगले शुक्रबार सबै कानुनी प्रक्रिया र आवश्यक कागजातहरूको सूक्ष्म अध्ययनपछि थापा नेतृत्वको कार्यसमितिलाई औपचारिक रूपमा वैध ठहर गरेको हो।

काठमाडौँस्थित भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिहरूको समर्थनसहित गगन थापा सभापतिमा चयन भएका थिए। सोही महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिको वैधतामाथि उठेका प्रश्नहरू आयोगको निर्णयसँगै अन्त्य भएका छन्।

निर्वाचन आयोगको यस निर्णयसँगै नेपाली कांग्रेसको आन्तरिक विवादमा औपचारिक पूर्णविराम लागेको छ भने पार्टी अब आगामी निर्वाचन र राजनीतिक गतिविधिमा एकीकृत र वैधानिक नेतृत्वसहित अघि बढ्ने आधार तयार भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

यस निर्णयलाई नेपाली कांग्रेसको संगठनात्मक स्थायित्व र लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रतिक्रिया