सुमना श्रेष्ठको तीक्ष्ण प्रश्न : ‘नख्खुमा इज्जतसँगै मानवता पनि जलाएको हो र ?’

ecopolinews.com

काठमाडौं, असोज ११ । रास्वपा परित्याग गरेकी नेतृ सुमना श्रेष्ठले आफ्नो विरुद्ध भइरहेको प्रचारप्रति कडा आपत्ति जनाउँदै पार्टी नेतृत्वलाई नैतिकता र अवसरवादबारे गम्भीर प्रश्न उठाएकी छिन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक चार बुँदे लामो अभिव्यक्तिमा उनले आफूलाई ‘जंगी अड्डा जानबाट रोकिन्’ भन्ने आरोपको खण्डन गर्दै त्यस्तो प्रचार नै ‘इमान र मानवताको अपमान’ भएको बताइन्।

सुमनाले सभापति रवि लामिछानेलाई छुटाउन नख्खु कारागार पुगेको प्रसंग स्मरण गर्दै प्रश्न गरिन्—“इज्जतसँगै मानवता पनि जलाएको हो र ? नगरेको संघर्ष र नदिएको नेतृत्वलाई ‘गरेँ’ भन्नु जनताप्रति गद्दारी होइन र ?”

उनले अवसरवाद, व्यक्तिवाद र भ्रमको राजनीति मुलुकका लागि खतरनाक भएको चेतावनी दिँदै तीन ठूला दलका नेतालाई चोरऔंला देखाउने तर आफैं त्यही प्रवृत्तिमा डुब्ने चरित्रप्रति व्यंग्य गरिन्।

जेन-जी आन्दोलनलाई कुनै दलको एजेन्डा वा झण्डामा सीमित नगर्नुपर्ने स्पष्ट सन्देश दिँदै उनले भनेकी छिन्—“७४ सहिदको बलिदान, सयौं घाइते र लाखौं नागरिकको सहभागिताको अवमूल्यन हुने गरी धमिलो पानीमा माछा मार्ने काम नगर्नुहोस्। उजाडिएका काख र रित्तिएका सिउँदो सम्झनुहोस्।”

श्रेष्ठले वैकल्पिक राजनीतिमा आउनेहरूप्रति पनि प्रश्न गर्दै चेतावनी दिइन्—

“तपाईंहरू देशको लागि फरक पहिचान बनाउन आउनुभएको हो, वा केवल वैकल्पिक शेरबहादुर र वैकल्पिक केपी बन्न?”

उनको अभिव्यक्ति पार्टीभित्रको मतभेद मात्र नभई वैकल्पिक राजनीति कुन बाटोमा अघि बढ्ने भन्ने बहसमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

प्रतिक्रिया