निर्वाचनको माहोल बनाउन सरकार दल–दलको ढोका ढकढक्याउँदै, आज तीन दलको कार्यालय अनुगमन

ecopolinews.com

काठमाडौं, ९ पुस ।आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले राजनीतिक वातावरण निर्माणका लागि सक्रिय कूटनीति थालेको छ । यही क्रममा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन तथा प्रत्यक्ष संवाद हुने भएको छ ।

सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले आज दिनभर तीन दलका कार्यालय पुगेर नेताहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ । समितिको कार्यतालिकाअनुसार बिहान ११ बजे जनमत पार्टी, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपाको कार्यालयमा पुगेर अनुगमन तथा संवाद गरिनेछ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा गठित उक्त समितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन् ।

आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सरकारले सरोकारवाला राजनीतिक दलहरूसँग चरणबद्ध वार्ता र संवादलाई तीव्र बनाएको हो । सञ्चारमन्त्री खरेलले निर्वाचनलाई विश्वसनीय, शान्त र सहभागितामूलक बनाउन सरकार स्वयं दलहरूको कार्यालयमै पुगेर संवाद गरिरहेको बताएका छन् ।

उनका अनुसार निर्वाचन केन्द्रित सहमति र विश्वासको वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता रहेको छ । “राजनीतिक दलहरूलाई चुनावी प्रक्रियातर्फ केन्द्रित गराउन संवाद अपरिहार्य छ,” मन्त्री खरेलको भनाइ छ ।

यसअघि संवाद समितिले मङ्गलबार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का कार्यालयमा पुगेर अनुगमन तथा नेताहरूसँग छलफल गरिसकेको थियो । सरकारले सबै प्रमुख तथा सरोकारवाला दलसँग प्रत्यक्ष संवादलाई निरन्तरता दिने जनाएको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा सरकारको यो पहलले राजनीतिक तापक्रम घटाउने र चुनावी माहोल सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया