ओली–लेखक पक्राउ दबाबको समाचार निराधार: आईजीपी चन्द्र कुबेर खापुङको कडा खण्डन"

ecopolinews.com

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइए राजीनामा दिने चेतावनी दिएको भन्ने समाचारहरूलाई असत्य र भ्रामक बताएका छन्।

उनको सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सो सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति गम्भीर आपत्ति जनाउँदै ती समाचारहरू तथ्यहीन भएको स्पष्ट गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “केही दिनयता विभिन्न पत्रपत्रिकाहरू र सञ्चारमाध्यमहरूमा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सिर्जना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।”

विज्ञप्तिमा थप भनिएको छ, “प्रहरी महानिरीक्षकज्यूले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको स्पष्ट गर्दै, सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीसँग भएका बैठकहरूमा केवल शान्ति–सुरक्षा र समसामयिक चुनौतीहरूको विश्लेषणमा केन्द्रित भई सौहार्दपूर्ण छलफल मात्र भएको हो।”

यसअघि केही सञ्चारमाध्यमले प्रधानमन्त्री र गृहमन्त्रीले ओली–लेखकलाई पक्राउ गर्न निर्देशन दिएपछि आईजीपी खापुङले असहमति जनाउँदै राजीनामा गर्ने चेतावनी दिएको दाबी गरेका थिए। तर खापुङ पक्षले त्यस्ता समाचार पूर्णतः गलत र राजनीतिक रूपमा प्रेरित भएको प्रतिक्रिया दिएको छ।

प्रतिक्रिया