इरानमाथि सम्भावित सैन्य कारबाहीको आकलन गर्दै अमेरिकाद्वारा साउदी र कतारमा थप मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ

ecopolinews.com

इरानसँगको युद्ध पुनः चर्किने उच्च सम्भावनाबीच अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति र सुरक्षा संयन्त्रलाई व्यापक रूपमा बढाएको छ। इरानमाथि थप कडा सैन्य कदम चाल्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीसँगै अमेरिकाले साउदी अरब र कतारका महत्त्वपूर्ण ऊर्जा संरचनाको सुरक्षाका लागि अत्याधुनिक ‘प्याट्रियट’ मिसाइल प्रतिरक्षा प्रणाली पठाएको छ। अमेरिकी अनलाइन एक्सियसका अनुसार इरानमाथि अमेरिकी कारबाही भएमा इरानले मध्यपूर्वका अमेरिकी सैन्य अड्डा तथा खाडी देशका तेल प्रशोधन केन्द्रमा गर्न सक्ने सम्भावित प्रत्याक्रमणलाई निस्तेज पार्न यी हतियार तैनाथ गरिएका हुन्।

दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एक्सियसले जनाएअनुसार साउदी अरबमा पठाइएको प्याट्रियट प्रणालीले त्यहाँको महत्त्वपूर्ण तेल प्रशोधन केन्द्रको सुरक्षा गर्नेछ भने कतारमा तैनाथ प्रणालीले प्राकृतिक ग्याससम्बन्धी संवेदनशील संरचनाको रक्षा गर्नेछ। रडार, नियन्त्रण केन्द्र र इन्टरसेप्टर क्षेप्यास्त्रसहितको यस प्रणालीले हवाई आक्रमणलाई आकाशमै ध्वस्त पार्ने क्षमता राख्छ। यसअघि गत अगस्टमा ट्रम्पले इरानका ऊर्जा संरचना लक्षित सैन्य आक्रमणको तयारी गर्दा साउदी र कतारका नेताहरूले आफ्ना पूर्वाधारमाथि इरानले बदला लिन सक्ने भन्दै त्यसो नगर्न आग्रह गरेका थिए। इरानविरुद्धको सम्भावित ठूलो कारबाहीमा अमेरिकी विमानलाई साउदीको हवाई क्षेत्र प्रयोग गर्नुपर्ने बाध्यता रहेको र आफ्नो तेल पूर्वाधारको पूर्ण सुरक्षा सुनिश्चित नभएसम्म साउदीले उक्त अनुमति दिन हिचकिचाउने भएकाले पनि अमेरिकाले यो अस्त्र पठाएको अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौता नभए आगामी केही साताभित्रै बमबारी अभियान सुरु गर्नेबारे विचार गरिरहेको बताएपछि मध्यपूर्वमा सामरिक तनाव ह्वात्तै बढेको छ। यसैबीच अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले थप युद्धपोत, लडाकु विमान र सैनिकहरूको ठूलो डफ्फा मध्यपूर्वतर्फ पठाइरहेको छ। हजारौँ अमेरिकी मरिन सैनिक बोकेका तीनवटा जहाजसहितको ‘माकिन आइल्यान्ड एम्फिबियस रेडी ग्रुप’ र ‘यूएसएस थियोडोर रुजवेल्ट’ विमानवाहक युद्धपोत गत साता नै क्यालिफोर्नियाबाट त्यसतर्फ प्रस्थान गरिसकेका छन्। यी अत्याधुनिक नौसैनिक शक्तिहरू आगामी नोभेम्बर महिनाको मध्यदेखि अन्त्यसम्ममा मध्यपूर्व पुग्ने अपेक्षा गरिएको छ, जसले त्यस क्षेत्रमा अमेरिकी सैन्य पकडलाई अझ मजबुत र आक्रामक बनाउनेछ।

प्रतिक्रिया