जीवित देवी आर्यताराद्वारा आज सर्वसाधारणलाई दशैंको टीका

ecopolinews.com

काठमाडौं, असोज १६ । महानवमीको रात तलेजु भवानीको दर्शन गरेपछि आज बिहान ११ बजेपछि जीवित देवी आर्यतारा सर्वसाधारणलाई दशमीको टीका लगाइदिने भएकी छन्।

नेवार समुदायको धार्मिक परम्परा अनुसार जीवित देवीलाई देवी तलेजुको जीवित अवतार मानिन्छ। त्यसैले महानवमीको मध्यरातमा कुमारीलाई तलेजु भवानीको दर्शन गराइने चलन छ, जसबाट विशेष शक्ति प्राप्त हुने विश्वास रहँदै आएको छ।

हालै मात्र राजकीय जीवित देवीका रूपमा नियुक्त भएकी साढे दुई वर्षीया कुमारी आर्यतारा इटुम्बाहलको बहालबाट चयन भएकी हुन्। उनी महाअष्टमीका दिन ऐतिहासिक कुमारी घरमा पूजनीय बनेकी थिइन्। यसअघि जीवित देवी रहेकी तृष्णा शाक्यको उत्तराधिकारीका रूपमा आर्यताराले कुमारी पद ग्रहण गरेकी हुन्।

कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले समेत कुमारीको दर्शन गर्ने परम्परा छ। काठमाडौंमा मात्र नभई पाटन, बुंगमती, टोखा र भक्तपुरमा पनि कुमारीको व्यवस्था रहने परम्परा आजसम्म निरन्तर छ।

इतिहासअनुसार तत्कालीन राजा जयप्रकाश मल्लले काठमाडौंको कुमारी घरको स्थापना गरेका थिए। त्यसयता कुमारीलाई देवीको जीवित प्रतीकका रूपमा सम्मान गर्दै दशैंलगायतका विशेष पर्वमा टीका–आशीर्वाद लिने धार्मिक प्रथा निरन्तर रहँदै आएको छ।

प्रतिक्रिया