नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजन केसीले पार्टीभित्र देखिएको असहमतिको समाधान संवाद र सहमतिमार्फत गर्ने स्पष्ट संकेत गर्दै विशेष महाधिवेशनमा सहभागी हुने निर्णय भएको बताएका छन्। नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको संवादमा उनले आफू सहित संस्थापन पक्षधर ३० जना केन्द्रीय सदस्यबीच विशेष महाधिवेशनमा जाने सहमति बनेको जानकारी दिए।
केसीले पार्टी विभाजनको कुनै अवस्था सिर्जना नगर्ने दृढ प्रतिबद्धता व्यक्त गर्दै भने, “हामी पार्टी फुटाउने दिशामा जाँदैनौं। नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर फागुन २१ गतेको निर्वाचन र आगामी वैशाखमा हुने १५औं महाधिवेशनतर्फ लैजाने हाम्रो साझा प्रयास हुनेछ।”
उनले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन सम्भव नरहेको स्पष्ट पार्दै अहिलेको विशेष महाधिवेशन फरक परिस्थितिमा आयोजना हुन लागेको उल्लेख गरे। यो प्रक्रिया अन्ततः सहमति र नेगोसेशनमार्फत टुंगिने उनको दाबी छ।
केन्द्रीय सदस्य केसीले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागलाई पनि सम्मान गरिने बताउँदै सबै पक्षलाई समेटेर पार्टीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार आन्तरिक मतभेदलाई संवाद र सहकार्यबाट समाधान गर्दै कांग्रेसलाई सशक्त र एकताबद्ध बनाउनु नै अहिलेको प्रमुख लक्ष्य हो।