काठमाडौँ: सेयर कारोबार र बिचौलिया दीपक भट्टसँगको साझेदारीलाई लिएर चौतर्फी राजीनामाको दबाब झेलिरहनुभएका गृहमन्त्री सुधन गुरुङले मन्त्रालयमा सुरक्षा निकायका उच्च अधिकारीहरूसँग आकस्मिक बैठक सुरु गर्नुभएको छ। मन्त्री गुरुङले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलसहितका अधिकारीहरूलाई बोलाएर केही ठूला र संवेदनशील भ्रष्टाचारका फाइलहरूमाथि छलफल गरिरहनुभएको स्रोतले जनाएको छ। आफूमाथि लागेका आरोपहरूलाई 'मिडिया ट्रायल' र 'प्रायोजित हल्ला' को संज्ञा दिँदै आएका मन्त्री गुरुङले यो बैठक मार्फत केही उच्च पदस्थ व्यक्तिहरूलाई पक्राउ गर्ने र कारबाही प्रक्रिया अघि बढाउने तयारी गर्नुभएको बुझिएको छ।
सोमबार राति सामाजिक सञ्जालमार्फत 'राष्ट्रिय ढुकुटी लुट्नेहरूले आफूविरुद्ध मोर्चाबन्दी गरेको' जिकिर गर्दै उहाँले कुनै पनि हालतमा नडगमगाउने र कारबाही नरोकिने चेतावनी दिनुभएको थियो। एमालेको राजीनामा माग र नेविसंघको सडक प्रदर्शनले घेरिँदै जानुभएका मन्त्री गुरुङले सुरक्षा अधिकारीहरूसँगको यो बैठकलाई आफ्नो 'अस्तित्वको लडाइँ' र आरोपहरूबाट ध्यान मोड्ने रणनीतिका रूपमा उपयोग गर्न खोजेको कूटनीतिक वृत्तमा चर्चा सुरु भएको छ। अब यो बैठकले कुन 'हाइ-प्रोफाइल' व्यक्तिलाई कानुनको कठघरामा उभ्याउँछ र मन्त्रीको आफ्नै पदमा कस्तो असर पार्छ, त्यसले आगामी केही घण्टाभित्रै नयाँ राजनीतिक मोड लिने देखिएको छ।