एमाले महाधिवेशनमा आज कसको जित? केहीबेरमै सुरु हुँदै निर्णायक मतदान

ecopolinews.com

काठमाण्डौ - नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि केहीबेरमै मतदान सुरु हुँदैछ। औपचारिक रूपमा मतदान समय साँझ ७ बजे तोकिए पनि महाधिवेशन प्रतिनिधिहरू भने त्यसअघि नै मतदानका लागि लाइनमा बस्न थालेका छन्।

भृकुटीमण्डपमा जारी बन्दसत्रमा एमालेको आगामी नेतृत्वका लागि चासो उच्च बनेको छ। ११ औं महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबीच सीधा प्रतिस्पर्धा हुँदैछ, जसलाई महाधिवेशनको सबैभन्दा रोचक र निर्णायक भिडन्तका रूपमा हेरिएको छ।

उपाध्यक्ष पदमा बहुपक्षीय प्रतिस्पर्धा देखिएको छ। अरूण नेपाल, गुरु बराल, गोकर्णराज विष्ट, टंक कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. विन्दा पाण्डे र विष्णुप्रसाद पौडेल मैदानमा छन्।

महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, तीन उपमहासचिव पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल र वैजनाथ चौधरी उम्मेदवार बनेका छन्।

नौ सचिव पदका लागि २० जनाले उम्मेदवारी दिएका छन्, जसले सचिव तहमा कडा प्रतिस्पर्धा देखिएको छ। यसमा अग्निप्रसाद खरेलदेखि हिक्मतकुमार कार्कीसम्मका नेताहरू चुनावी मैदानमा छन्।

एमाले महाधिवेशनमा कुल २,२६२ जना प्रतिनिधि सहभागी छन्। मतदानसँगै एमालेको भावी नेतृत्व, शक्ति सन्तुलन र पार्टीको आगामी राजनीतिक दिशा स्पष्ट हुने अपेक्षा गरिएको छ।

तस्बिरहरु फोटो स्रोत:सेतोपाटी

प्रतिक्रिया