मन्त्री पुनले अस्वीकार गरे ‘माननीय’ हैसियत

ecopolinews.com

९ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनले कार्यकक्षको ढोका बाहिर टाँसिएको ‘माननीय’ शब्द नै हटाउने साहसिक निर्णय गरेका छन्। पदभार ग्रहणको सुरुदेखि नै देखावटी उपाधि र सम्मानभन्दा सेवाभावमा जोड दिँदै आएका पुनले अब मन्त्रालयमै यसलाई व्यवहारमा उतारेका हुन्।

मन्त्रालयको प्रचलनअनुसार मन्त्रीको नामसहित ‘माननीय’ भनेर बोर्ड राख्ने चलन थियो। तर पुनले त्यो देख्नेबित्तिकै नाम मात्र राख्न आदेश दिएका छन्। उनको निर्देशनपछि मन्त्रालयका कर्मचारीले पुरानो बोर्ड हटाएर नयाँ नामफलक टाँसेका छन्, जसमा लेखिएको छ –

 डा. महावीर पुन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

उपाधि होइन जिम्मेवारी

पदभार ग्रहण गर्ने दिनमै पुनले आफूलाई माननीय भनेर सम्बोधन नगर्न आग्रह गरेका थिए। उनका अनुसार, “कर्मचारीले भित्र औपचारिकताका लागि मन्त्री भन्न सक्ने छन्, तर बाहिर समाजसँगको व्यवहार सेवाभावमै हुनुपर्छ।”

राजनीतिक संस्कृतिमाथि प्रश्न

पुनको यो कदमलाई कतिपयले राजनीतिक संस्कृतिमा देखावटी परम्पराविरुद्धको संकेतका रूपमा लिएका छन्। उनका समर्थकले यसलाई सादगी र जनमुखी नेतृत्वको उदाहरण भनेका छन्।

यसअघि पनि पुन सामाजिक अभियन्ताका रूपमा चर्चित थिए। मन्त्री भएपछि पनि उनले जनतासँगको सम्बन्धलाई हैसियत र उपाधि होइन, जिम्मेवारी र सेवाभावले तोकिनुपर्ने सन्देश दिएका छन्।

प्रतिक्रिया