काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले पार्टीलाई आसन्न प्रतिनिधिसभा निर्वाचनतर्फ एकताबद्ध ढंगले अघि बढाउन कार्यवाहक सभापति तोक्नुपर्ने सुझाव दिएका छन्।
उनले विधानअनुसार सभापति शेरबहादुर देउवा उपचाररत भएकाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिनुपर्नेमा जोड दिए। ‘देउवा हस्पिटलाइज्ड हुनुहुन्छ, त्यसैले उहाँले विधानअनुसार कार्यवाहक दिनुपर्छ। पार्टीले घोषित निर्वाचनको तयारी अब ढिला नगरी सुरु गर्नुपर्छ,’ निधिले भने।
निधिको भनाइमा, कार्यवाहक सभापतिको नेतृत्वमा पार्टीलाई चुनावी मैदानमा उतार्नु नै बृहत् एकताको सही विकल्प हो। उनले विशेष महाधिवेशन वा प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डा अहिले उपयुक्त नहुने स्पष्ट पारे।
‘देश जटिल परिस्थितिमा छ, यस्तो बेला विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन गर्नु गलत हो। यसले पार्टीलाई टुक्र्याउँछ, एकताबद्ध बनाउँदैन,’ उनले चेतावनी दिए।
निधिका अनुसार विघटनअघि कांग्रेस–एमालेको संयुक्त सरकारले जनपक्षीय काम गर्न नसकेकाले अब नयाँ जनमतमा जानु नै उचित मार्ग हो।
यता, महामन्त्री गगन थापा समूहले विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन सुरु गरिरहेको छ भने संस्थापन पक्ष भने त्यसको विपक्षमा छ।
यस्तै परिस्थितिमा नेता निधिले कार्यवाहक सभापति तोकेर कांग्रेसलाई निर्वाचनमा होमिनुपर्ने बताएका हुन्।