काठमाडौं, २७ असोज । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं भारत भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार “डलरमा आएको” भन्दै टिक्न नसक्ने दाबी गरे।
उनका अनुसार हालको सरकार विदेशी स्वार्थका लागि सञ्चालन भइरहेको छ र यस्तो सरकारले देश र नागरिकको हित गर्न सक्दैन। उनले भने, “यो सरकार टिक्दैन, यो डलरमा आएको सरकार हो।”
प्रसाईंले देशमा राजसंस्थाको पुनःस्थापना अपरिहार्य भएको पुनः दोहोर्याउँदै भने, “राजा भनेको सबैलाई जोडेर राख्ने शक्ति हुन्। धर्म भनेको देशको आत्मा हो, संविधानजस्तै। हामीलाई यस्तो संविधान चाहिँदैन जसले देशको मर्म नै हराउँछ।”
उनले हालको शासनप्रणाली र सरकारलाई “विदेशी एजेन्टहरूको कठपुतली”को रूपमा चित्रण गर्दै देशको अस्तित्व र राष्ट्रिय एकताका लागि राजसंस्था नै एक मात्र विकल्प भएको बताए।