नेपालको राजनीतिमा प्रभावशाली स्थान ओगटेको नेकपा एमालेभित्र तीव्र आन्तरिक ध्रुवीकरण र अभूतपूर्व संकट उत्पन्न भएको छ। लामो समयदेखि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हरेक संकटमा दह्रो साथ दिँदै आएका उनका मुख्य 'सारथी'हरू नै अहिले उनको विरुद्धमा उभिएका छन्। अध्यक्ष ओलीका सबैभन्दा भरपर्दा र ‘दाहिने हात’ मानिने महासचिव शंकर पोखरेलले समेत साथ छाडेपछि एमालेवृत्तमा खुला विद्रोहको स्पष्ट संकेत देखिएको छ। अध्यक्ष ओलीकै निवास गुन्डुमा बसेको पार्टी सचिवालय बैठकमा महासचिव पोखरेलले अब यथास्थितिमा एमाले अघि बढ्न नसक्ने र पार्टीमा व्यापक सुधारसहित पुनर्गठन आवश्यक रहेको भन्दै आफ्नो गम्भीर असन्तुष्टि पोखेका छन्। उनले नेतृत्वलाई अप्रत्यक्ष रूपमा मार्गप्रशस्त गर्न आग्रह गरेपछि बैठक निकै तनावपूर्ण बनेको स्रोतले जनाएको छ।
गुन्डु बैठकमा महासचिव पोखरेल मात्र होइन, एमालेका बहुमत शीर्ष नेताहरू अध्यक्ष ओलीको कार्यशैलीविरुद्ध एकढिक्का भएका छन्। ओलीलाई पहिलो कार्यकालदेखि नै काँध थाप्दै आएका उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले पार्टी पुनर्गठनको ढोका खोल्नका लागि पहिलो कदम अध्यक्ष आफैँले चाल्नुपर्ने र मार्गप्रशस्त गर्नु नै उपयुक्त हुने सुझाव दिएका छन्। त्यसैगरी, उपाध्यक्षद्वय गोकर्ण विष्ट र रघुजी पन्तले त ओलीले नैतिक जिम्मेवारी लिँदै पद त्याग्नुपर्ने स्पष्ट अडान राखेका छन्। उपमहासचिव योगेश भट्टराई र बहुमत उपमहासचिवहरूले त झन् स्पष्ट रूपमा अध्यक्ष ओलीको राजीनामा नै वर्तमान संकटको एक मात्र विकल्प भएको दाबी गरेपछि ओली इतिहासकै कडा घेराबन्दीमा परेका छन्।
यसैबीच, एमालेकी पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बैठक चलिरहेकै समयमा सामाजिक सञ्जालमार्फत ओलीमाथि कडा प्रहार गरेकी छिन्। उनले एमाले पार्टी लाखौँ कार्यकर्ताको रगत र पसिनाले बनेको संस्था भएको उल्लेख गर्दै यो केपी शर्मा ओलीको ‘पेवा’ वा उनको ‘गुटको कम्पनी’ नभएको टिप्पणी गरेकी छिन्। शाक्यले सास रहुन्जेल अध्यक्ष भइराख्ने सोच गलत भएको भन्दै ओलीलाई आफ्नो दम्भ र घमण्ड त्यागेर युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्न चेतावनीपूर्ण आग्रह गरेकी छिन्। चौतर्फी आक्रमणपछि बैठकमा आक्रोशित बनेका अध्यक्ष ओलीले आफ्नै नेताहरू विरोधीहरूसँग मिलेर पार्टीलाई संकटमा पार्न लागेको आरोप लगाएका छन्। बैठकमा माओवादी पृष्ठभूमिबाट आएका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र नेता महेश बस्नेतले मात्र ओलीको बचाउ गरेका थिए। एमाले इतिहासमै पहिलोपटक यसरी सचिवालय बैठक लामो र निर्णायक मोडमा पुगेकाले आगामी दिनमा पार्टी कता जान्छ भन्ने कुराले नेपाली राजनीति तरंगित बनेको छ।