'आफ्नो नगरको अडिट म आफैं गर्छु’ अभियान राइनासमा सुरु — नागरिकले प्रयोग गर्न थाले सूचनाको हक

ecopolinews.com


रविन्द्र कट्टेल - लमजुङ, असोज २९ — नेपालको संविधानको धारा २७ र सूचनाको हक सम्बन्धी ऐन, २०६४ का दफा ३ र ७ अनुसार श्री दिनेश पाण्डे (सन्दिप) ज्युले आज राइनास नगरपालिकामा सूचना माग गर्दै औपचारिक रूपमा पत्र दर्ता गर्नुभएको छ। यो कदमले स्थानीय तहमा पारदर्शिता र उत्तरदायित्व स्थापित गर्ने प्रयासलाई नयाँ मोड दिएको छ।

पाण्डेले उक्त सूचना मागपत्रमा जेनेरेशन जेड (GenZ) को समेत प्रतिनिधित्व हुने गरी नगरका विविध योजना, बजेट, खर्च विवरण र निर्णय प्रक्रियाबारे जानकारी माग्नुभएको हो। उहाँले भन्नुभयो — “नगरको विकासमा पारदर्शिता र जनसहभागिता अपरिहार्य छ। आफ्नो नगरको अडिट हामी आफैं गर्न सक्छौं भनेमात्र भ्रष्टाचार घट्छ र विश्वास बढ्छ।”

पाण्डेले अघि बढाएको यो अभियानसँगै अब प्रत्येक वडा बासीले पनि आफ्नो वडा र नगरपालिकाको सम्पूर्ण कार्यप्रणालीमा सूचनाको हक प्रयोग गर्दै सचेत नागरिकको भूमिका निर्वाह गर्न सक्नेछन्। उहाँले “आफ्नो नगरको अडिट म आफैं गर्छु” भन्ने मूल नारा अघि सारेका छन्, जसले युवाहरूमाझ “युवा सोच, पारदर्शी नगर” को सन्देश फैलाइरहेको छ।

सूचनाको हक कार्यान्वयनले मात्र सार्वजनिक निकायहरूलाई पारदर्शी र जवाफदेही बनाउने पाण्डेको विश्वास छ। उहाँले थप गर्नुभयो, “पारदर्शी सार्वजनिक निकाय रहेमात्र सुचनाको हकको प्रत्याभूति हुन्छ। त्यसैले हामी नगरमा पारदर्शी कार्यप्रणाली विकासका लागि हरेक तहबाट प्रयास गर्दैछौं र सबै नागरिकको साथ-सहयोग अपेक्षा गर्दछौं।”

स्थानीय युवा तथा नागरिक समाजका प्रतिनिधिहरूले पाण्डेको यो पहललाई स्वागत गर्दै यसले राइनास नगरपालिकामा सुशासन र जवाफदेहिताको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरेका छन्।

जय देश। जय राइनास।

प्रतिक्रिया