रविन्द्र कट्टेल
२७ भदौ, काठमाडौं। जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लामा प्रदर्शन हिंस्रक बन्दै जाँदा मृत्यु हुनेको संख्या बढ्दै गएको हो।
प्रहरीका अनुसार मृतकमध्ये तीन जना प्रहरी र एक भारतीय महिला पनि परीक्षित छन्। उपत्यकामा भएका प्रदर्शन र सुरक्षाकर्मीबीचको भिडन्तका कारण धेरैजसो ज्यान गएको प्रारम्भिक विवरणमा उल्लेख छ।
विश्लेषकहरूका अनुसार यो आन्दोलन केवल सामाजिक सञ्जालमै सीमित नभई सडकमा जनशक्ति परिचालनमार्फत देशव्यापी रूपमा फैलिएको देखिन्छ। लगातारको भिडन्त, सुरक्षाकर्मीको बल प्रयोग र आन्दोलनकारीको प्रतिरोधले मृत्यु दर बढेको अनुमान गरिएको छ।
मृतकहरूको औपचारिक विवरण अझै संकलन भइरहेको र अन्तिम संख्या अझ बढ्ने आशंका पनि प्रहरी निकायभित्र छ। यसबीच, सरकारले आन्दोलनलाई शान्तिपूर्ण समाधानतर्फ लैजान प्रयास गरिरहेको दाबी गरे पनि आन्दोलनकारीहरूले दमन अन्त्य नगरेसम्म वार्ता सम्भव नभएको बताएका छन्।