सुकुम्बासीमाथि बल प्रयोग नगर्न कांग्रेसको आग्रह: ‘पहिले वास्तविक पहिचान गर, अनि मात्र कानुन लगाऊ’

ecopolinews.com

काठमाडौँ, ११ वैशाख - नेपाली कांग्रेसले नदी किनारका सुकुम्बासी बस्ती खाली गराउन सरकारले बल प्रयोग गर्न लागेकोमा गम्भीर आपत्ति जनाएको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुकुम्बासी समस्या समग्र राष्ट्रको साझा समस्या भएको भन्दै यसलाई मानवीय र विवेकपूर्ण ढङ्गले समाधान गर्न सरकारसँग आग्रह गरेको हो।

बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा विधिको शासन पालना गर्दै दिगो समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइएको छ। कांग्रेसले अदालतका आदेश र विगतका संसदीय समितिका निर्णयहरूलाई मार्गदर्शक मान्दै अघि बढ्न सुझाव दिएको छ।

पहिले पहिचान, त्यसपछि समाधान कांग्रेसले कुनै पनि कदम चाल्नुअघि वास्तविक सुकुम्बासी र सुकुम्बासीको नाममा फाइदा लिनेहरूबीचको स्पष्ट पहिचान हुनुपर्नेमा जोड दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘वास्तविक सुकुम्बासीलाई जमिन र आवास उपलब्ध गराउनु केवल नीतिगत दायित्व मात्र होइन, यो उनीहरूको मौलिक अधिकारको संरक्षणसँग जोडिएको संवैधानिक कर्तव्य हो।’ वास्तविक भूमिहीनलाई सुरक्षित आवासको ग्यारेन्टी गरेपछि मात्र गलत फाइदा लिनेहरूमाथि कानुनी कारबाही गर्ने बाटो खुल्ने कांग्रेसको तर्क छ।

अपरिपक्व शैलीको आलोचना आफ्नो संवैधानिक दायित्व पूरा नगरी केवल बल प्रयोग गरेर समस्या समाधान खोज्नुलाई कांग्रेसले ‘शासन सञ्चालनको अपरिपक्व र अविवेकी शैली’ को संज्ञा दिएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले बस्ती खाली गर्न दिएको अल्टिमेटम र डोजर चलाउने तयारीप्रति लक्षित गर्दै कांग्रेसले संवेदनशीलता र कानुनी आधारमा टेकेर मात्र अघि बढ्न सरकारलाई सचेत गराएको छ।

विज्ञप्ति मार्फत कांग्रेसले भनेको छ, ‘बल प्रयोगभन्दा अघि समाधानको विवेकपूर्ण, न्यायोचित र मानवीय उपाय अवलम्बन गरिनु आवश्यक छ। सरकारले संवेदनशीलताका साथ यस समस्याको दिगो समाधानतर्फ पाइला चालोस्।’

प्रतिक्रिया