काठमाडौँ । बागमती नदीको सभ्यता जोगाउन र सहरी सुन्दरता कायम राख्न थापाथलीस्थित नदी किनारका अनधिकृत सुकुमबासी बस्तीहरू आज बिहानैदेखि हटाउन सुरु गरिँदैछ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिएको अन्तिम समयसीमा शुक्रबार साँझ ७ बजे सकिएसँगै सरकारले आजदेखि ती क्षेत्रमा रहेका अवैध संरचनाहरू भत्काउने र अतिक्रमित भूमि पूर्ण रूपमा खाली गराउने प्रक्रिया अघि बढाएको हो।
नदीको प्राकृतिक बहावमा गम्भीर अवरोध सिर्जना भएको र विकासका पूर्वाधार निर्माणमा सुकुमबासी बस्ती बाधक बनेको निष्कर्ष निकाल्दै गृह प्रशासनको निर्देशनमा यो कदम चालिएको हो। प्रशासनले यसअघि नै सार्वजनिक सूचना जारी गरी आफ्ना सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरिसकेको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती र अपाङ्गता भएका व्यक्तिहरूको संवेदनशीलतालाई मध्यनजर गर्दै उनीहरूलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रशासनले विशेष निर्देशन दिएको छ।
बस्ती खाली गराउने कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ। सरकारी कार्यमा कुनै पनि किसिमको अवरोध पुर्याएमा वा कानुन हातमा लिन खोजेमा घटनास्थलबाटै नियन्त्रणमा लिई कडा कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ। लामो समयदेखि विवादित रहँदै आएको थापाथलीको यो क्षेत्र खाली गराएसँगै बागमती कोरिडोरको निर्माण कार्यले गति लिने र सहरको स्वरूपमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।