काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाकी श्रीमती एवं केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि कांग्रेसलाई सीमित व्यक्तिहरुको मुठ्ठीमा कैद गरेको आरोप लगाउँदै कडा चेतावनी दिएका छन्।
नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, “डा. आरजुले हामीमाथि निरन्तर अन्याय र विभेदको दण्डा चलाउनुभयो, पार्टीलाई केही व्यक्तिको हातमा कैद गर्नु उहाँकै परिणाम हो।”
घिमिरेले वर्तमान विषम परिस्थितिमा पार्टीलाई निकास दिने एकमात्र बाटो विशेष महाधिवेशन भएको प्रस्ट पारे। उनका अनुसार यही अनुहार बोकेर (शेरबहादुर देउवा) फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा जान कांग्रेस सक्दैन।
“नेताहरु कुम्भकर्ण निद्राबाट उठ्नुपर्छ”
उनले कांग्रेसका नेताहरुलाई अब कुम्भकर्ण निद्राबाट उठ्नुपर्ने चेतावनी दिए। “राजनीतिक दलको असफलता र बेथितिबाट वाक्क भएर जनताले जेन–जी आन्दोलनमार्फत आफ्नो असन्तोष व्यक्त गरेका छन्। यो आन्दोलन जनभावनाको विस्फोट हो, दलहरुले समयमै ध्यान नदिँदा नै अहिलेको संकट उत्पन्न भएको हो,” उनले भने।
घिमिरेले जनताको मनोभावनालाई बुझेर कांग्रेसले तुरुन्त आत्ममन्थन गर्नुपर्नेमा जोड दिए। “हामीले विशेष महाधिवेशन माग्नुको कारण यही हो—देशभरका सरोकारवालासहित भेला भएर परिस्थिति विवेचना गरौं र निकास खोजौं। यसलाई अन्यथा लिनु खतरनाक हुन्छ,” घिमिरेको चेता
वनी थियो।