काठमाडौं । लगातार वर्षाले देशभरका विभिन्न राजमार्गमा पहिरो जाँदा काठमाडौं उपत्यकामा तरकारी, फलफूल र खाद्यान्न आपूर्ति अवरुद्ध भएको छ । आपूर्ति घटेपछि उपत्यकाको प्रमुख थोक बजार कालीमाटीमा नौ दिनमै तरकारीको मूल्य १७ देखि ७२ प्रतिशतसम्म बढेको छ ।
कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार गोलभेंडा, काँक्रो, प्याज, आलु, बोडी, घिउसिमी, फर्सी, भिन्डी, च्याउ र ब्रोकाउलीलगायत तरकारीको मूल्य उल्लेख्य बढेको छ । फलफूलमा भने मूल्य खासै बढेको छैन, तर आपूर्ति अवरुद्ध हुँदा व्यापारीहरू घाटामा परेको गुनासो गर्छन् ।
खानेतेलमा पनि माग बढेपछि तोरी, सोयाबिन र सनफ्लावर तेलको मूल्य प्रतिलिटर १०–२५ रुपैयाँले वृद्धि भएको छ ।
सरकार र वाणिज्य विभागले बजार अनुगमन भइरहेको दाबी गरे पनि उपभोक्ता अधिकारकर्मीहरूले सतही मात्र भएको आरोप लगाएका छन् । बिचौलियाले मनपरी मूल्य निर्धारण गर्ने प्रवृत्तिका कारण खुद्रा बजारमा उपभोक्ता अझै ठूलो मारमा परेका छन् ।