काठमाडौं । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको स्मृतिमा मंगलबार साँझ माइतीघरमा श्रद्धाञ्जली स्वरूप दीप प्रज्वलन गरिएको छ।
दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै देशमा न्याय, उत्तरदायित्व र राजनीतिक परिवर्तनको मागलाई अझ दृढतापूर्वक अघि बढाउने प्रतिज्ञा व्यक्त गरे। प्रदर्शनकारी युवादेखि समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको सो कार्यक्रममा गीत, कविता र नारा मार्फत बलिदानीहरूको योगदानलाई स्मरण गरिएको थियो।
शान्तिपूर्ण वातावरणमा सम्पन्न सो कार्यक्रममा उपस्थित जनसमुदायले आन्दोलनका क्रममा बलिदानी भएकाहरूको सम्झना गर्दै गहिरो शोक व्यक्त गरेका थिए।
आन्दोलनमा ज्यान गुमाएकाहरूलाई "शहीद" का रूपमा मान्यता दिनुपर्ने मागसहित सहभागीहरूले सरकारलाई जनजीवन सुरक्षित राख्ने र आन्दोलनका निहत्था सहभागीहरूमाथि दमन नगर्न चेतावनीसमेत दिएका थिए।
दीप प्रज्वलनले राजधानीलाई शोक र संघर्षको प्रतीकात्मक रंग दिएको छ। अन्धकारको बीचमा जलाइएको उज्यालो दीपले आन्दोलनको बलिदानी व्यर्थ नजाओस् भन्ने सन्देश दिएको सहभागीहरूको भनाइ छ।
१ असोज २०८२, बुधबार ०६:१० मा प्रकाशित