रवि–बालेन एकतापछि हर्क साम्पाङको तीखो प्रश्न:देश कसको हातमा सुम्पिन खोजिँदैछ?

ecopolinews.com

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको राजनीतिक सहकार्यप्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कडा प्रतिक्रिया जनाएका छन्। आइतबार बिहानै दुबै नेताबीच सम्झौतापत्रमा हस्ताक्षर भएको केही समयमै मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै उक्त सहकार्यलाई व्यङ्ग्यात्मक शैलीमा प्रश्न गरेका हुन्।

मेयर साम्पाङले उक्त एकतालाई विदेशी प्रभावलाई संस्थागत गर्ने प्रयासको संज्ञा दिएका छन्। उनका अनुसार सत्ता र पदको लालसामा देशको सार्वभौमिकतामाथि सम्झौता भइरहेको संकेत देखिएको छ। “सहकारी प्रकरणदेखि विभिन्न विवादमा तानिएका व्यक्तिसँग मिलेर देशलाई कसको हातमा बुझाउन खोजिँदैछ?” भन्दै उनले प्रत्यक्ष प्रश्न उठाएका छन्।

उनले पछिल्ला वर्षहरूमा देखिएको विदेशी चलखेल नेपाली राजनीतिमा खुलेर महसुस भइरहेको दाबी गर्दै त्यसलाई वैधानिक बनाउने प्रयास भइरहेको आरोप लगाए। मेयर साम्पाङको भनाइमा, जेनजी पुस्तालाई आन्दोलनमा उक्साएर सडकमा पठाइयो तर आन्दोलन हिंसात्मक बन्दा र नागरिक घाइते तथा ज्यान गुमाउने अवस्था आउँदा नेतृत्व भने मौन बसेको थियो।

“युवालाई अगाडि सारेर आन्दोलन चर्काइयो, तर जब आगो बल्यो, तब हेरेर बसियो,” उनले भिडिओ सन्देशमा भनेका छन्। उनका अनुसार सरकारलाई दबाब दिन बोलाउँदा पनि नेतृत्व अगाडि नआउनु गम्भीर प्रश्नको विषय हो।

मेयर साम्पाङले त्यसपछिको राजनीतिक परिणामतर्फ संकेत गर्दै जेनजी आन्दोलनका मूल मागहरू सम्बोधन नभएको र बरु आन्दोलनकारीमाथि धरपकड भएको आरोपसमेत लगाए। “एक चुनावबाहेक युवाका आवाजलाई बेवास्ता गरियो,” उनको भनाइ थियो।

भिडिओसँगै उनले फेसबुकमा निरन्तर स्ट्याटस लेख्दै रवि–बालेन सहकार्यलाई विदेशी चलखेलसँग जोडेर आलोचना गरेका छन्। एक स्ट्याटसमा उनले “देश सिध्याउने कामबाट सावधान रहन” चेतावनी दिएका छन् भने अर्कोमा जनतासामु जान नसक्ने व्यक्तिले प्रधानमन्त्री बन्ने सपना देखेको भन्दै कटाक्ष गरेका छन्।

उल्लेखनीय छ, शनिबार साँझदेखि लामो छलफलपछि आइतबार बिहान करिब ४ बजे रवि लामिछाने र बालेन शाहबीच एकताका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सम्झौताअनुसार पार्टीको नाम, झन्डा र चुनाव चिह्न राष्ट्रिय स्वतन्त्र पार्टीकै रहनेछ। आगामी निर्वाचनमा बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने र पार्टी नेतृत्व भने रवि लामिछानेकै हातमा रहने उल्लेख गरिएको छ।

यो सहकार्यले नेपाली राजनीतिमा नयाँ तरंग ल्याइरहेका बेला हर्क साम्पाङका तीखा अभिव्यक्तिले बहसलाई अझ चर्काएको छ।

प्रतिक्रिया