काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीमा देखिएका लामो समयदेखिका विवाद र बेथिति अन्त्य गर्ने उद्देश्यले नयाँ नेतृत्व चयन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले डा. विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो।
यसअघि विनोदकुमार शर्माको नेतृत्वमा रहेको समितिलाई विघटन गर्दै सरकारले रेडक्रस हाँक्न यो नयाँ टिम बनाएको हो। तत्कालीन अध्यक्ष शर्माले यसअघि नै पदबाट राजीनामा दिइसकेका थिए।
सुधारका अभियन्ता भण्डारीलाई नेतृत्व
नवनियुक्त अध्यक्ष डा. भण्डारी लामो समयदेखि रेडक्रसमा हुँदै आएको राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा सक्रिय युवा हुन्। रेडक्रसको समग्र सुधार र शुद्धीकरणको निरन्तर वकालत गर्दै आएका उनलाई सरकारले संस्थालाई पारदर्शी र जनमुखी बनाउने महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको छ।
नवगठित तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरू:
मन्त्रिपरिषद् स्रोतका अनुसार नवगठित तदर्थ समितिमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी पदाधिकारी र सदस्यहरू चयन गरिएका छन्:
१. डा. विशालकुमार भण्डारी (दोलखा) – अध्यक्ष
२. ऋषिरमण खनाल (गोरखा) – महामन्त्री
३. प्रेमसागर कर्माचार्य (काठमाडौं) – कोषाध्यक्ष
४. वसन्तकुमार श्रेष्ठ (भोजपुर) – सदस्य
५. अविस्मी न्यौपाने (दाङ) – सदस्य
६. पुष्पा दास (तेह्रथुम) – सदस्य
७. प्रेम लामा (सिन्धुपाल्चोक) – सदस्य
८. मोहम्मद आयतुल्ला रहमान (सप्तरी) – सदस्य
९. मन्जु साउद बोहरा (कैलाली) – सदस्य
विभिन्न विवादको घेरामा रुमल्लिएको र अन्तर्राष्ट्रिय स्तरमै छवि धमिलिएको नेपाल रेडक्रस सोसाइटीलाई विधिसम्मत, पारदर्शी र पूर्ण रूपमा मानवीय सेवामा समर्पित संस्थाको रूपमा स्थापित गर्न यस नवगठित तदर्थ समितिले प्रभावकारी कदम चाल्ने अपेक्षा गरिएको छ। pc:nepalpress