पत्रकारमाथि धम्की अस्वीकार्य : समाजवादी प्रेस संगठनद्वारा एमाले नेता बस्नेतको कडा भर्त्सना

ecopolinews.com

नेकपा एमालेका नेता महेश बस्नेतले पत्रकार किशोर श्रेष्ठलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्कीपूर्ण अभिव्यक्ति दिएको घटनाप्रति समाजवादी प्रेस संगठन नेपालले कडा आपत्ति जनाएको छ।

संगठनले बिहीबार जारी गरेको विज्ञप्तिमा बस्नेतले जनआस्था साप्ताहिकमा प्रकाशित ‘महेश बस्नेतलाई पोस्तादानामा पक्रने प्लान’ शीर्षकको समाचार का कारण जनआस्थाका सम्पादक तथा संगठनका सल्लाहकार किशोर श्रेष्ठमाथि धम्कीपूर्ण भाषा प्रयोग गरेको विषयलाई गम्भीर रूपमा लिइएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “पत्रकारमाथि यस किसिमको धम्की स्वतन्त्र प्रेस, लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण हो।”

संगठनले जोड दिएको छ कि पत्रकारले जनचासोका विषयमा समाचार लेख्नु वा प्रश्न सोध्नु पेशागत दायित्व हो, त्यसको प्रत्युत्तरमा ज्यान मार्ने धम्की दिनु न त राजनीतिक संस्कृतिसँग मेल खान्छ न त कानुनी शासनसँग।

संगठनका महासचिव रोहित दाहालद्वारा जारी विज्ञप्तिमा यस्तो अलोकतान्त्रिक, गैरराजनीतिक र आपराधिक प्रवृत्तिको कडा भर्त्सना गर्दै घटनाको निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गरिएको छ।

विज्ञप्तिमा थप भनिएको छ, “पत्रकारहरूलाई धम्की र त्रासमा पार्ने प्रवृत्तिले लोकतन्त्रको जग कमजोर पार्दछ। राज्यले सम्पादक किशोर श्रेष्ठलगायत सम्पूर्ण सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न तुरुन्त पहल गर्नुपर्छ।”

प्रतिक्रिया