सरकारले काठमाडौँका विभिन्न सुकुमबासी बस्ती हटाउने तयारी गरेसँगै प्रहरीले सक्रियता बढाएको छ। बस्ती खाली गराउने क्रममा हुनसक्ने सम्भावित मुठभेड र अवरोधलाई मध्यनजर गर्दै प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर्जुन कुँवर रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनीहरूलाई गएराति नियन्त्रणमा लिइएको हो। सरकारले आजैदेखि थापाथली, गैह्रीगाउँ र मनहरा फाँटमा रहेका सुकुमबासी बस्तीका घर-टहरा हटाउने योजना बनाएको छ।
यसअघि नै प्रहरीले संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कामी, दिनेश सुनार र कार्यबाहक अध्यक्ष नारायण परियारलाई पक्राउ गरिसकेको छ। योसँगै बस्ती हटाउने कार्यमा अवरोध पुर्याउन सक्ने आशंकामा पक्राउ पर्नेको संख्या ६ पुगेको छ।
बस्ती क्षेत्रमा हुनसक्ने सम्भावित तनावलाई रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ। सरकारले नदी किनारका अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिएपछि सुकुमबासी समूह र प्रशासनबिच द्वन्द्व बढ्ने संकेत देखिएको छ।