तथ्य र प्रमाणमा आधारित समाचारको खण्डन गर्न नसकेपछि मिडिया हाउसलाई नै बलिको बोको बनाउने र नेता सुधन गुरुङको राजनीतिक भविष्य सिध्याउने कुत्सित मनसायका साथ रचिएको एक गम्भीर र सुनियोजित षड्यन्त्रको पर्दाफास भएको छ। छिमेकी राष्ट्र चीन नै सुधन गुरुङको विरुद्धमा लागेको छ भन्ने भाष्य निर्माण गर्ने र सोही बहानामा मिडियालाई आर्थिक प्रलोभनमा परेको देखाएर बदनाम गर्ने उद्देश्यले रचिएको यो घृणित 'प्लट' अहिले छताछुल्ल भएको छ। विगतमा कृष्णबहादुर महरालाई फसाउन प्रयोग गरिएकै शैली अपनाएर, विदेशी नम्बरको दुरुपयोग गर्दै रचिएको यो हर्कतले नेपालका केही माफिया र पत्रकारहरूको कस्तो आपराधिक सञ्जाल सक्रिय छ भन्ने तथ्यलाई उजागर गरिदिएको छ।
यस सुनियोजित षड्यन्त्रको सुरुवात सौरभ यादवको नाममा दर्ता रहेको चिनियाँ (सेन्चेन) नम्बर +8618825241624 बाट भएको थियो। आफूलाई मिस्टर यिङ्ग र मिस्टर एम बताउने नक्कली पात्रहरूले मिडिया हाउसमा पटकपटक वाक्क लाग्ने गरी फोन गरेर "रवि कास्की अदालतबाट छुटेकै हो? तपाईंले बुझिदिनोस् न" भन्दै संवादको सुरुवात गरेका थिए। त्यसपछि उनीहरूले आफ्नो असली नियत खोल्दै "अब रविले सुधनलाई गृहमन्त्री बन्न दिन्न, हामी सबै मिलेर सुधनलाई छेक्नुपर्यो, सुधन एकदम खराब मान्छे हो, यसलाई जसरी पनि रोक्नुपर्यो" भन्दै मिडियालाई १० लाख रुपैयाँ दिने लिखित प्रलोभन देखाएका थिए। सञ्चारमाध्यमले कल नउठाउँदा पनि एकोहोरो म्यासेज गरिरहने ती गिरोहले शुक्रबार बेलुका मास्क र कालो चस्मा लगाएकी 'ह्वाइट क्रेन' (White crane) नामकी एक युवतीलाई अफिसको गेटमा पठाएर जबर्जस्ती ५० हजार नगद र एक बोतल रक्सी छाडेर भाग्ने प्रपञ्च रचेका थिए।
आफूले चिन्दै नचिनेको र कुनै कुराको माग नै नगरेको अवस्थामा एकोहोरो "सानो उपहार पठाउँछु" भन्दै आएको यो वाहियात प्रस्तावलाई मिडिया हाउसले ठाडै अस्वीकार गरेको छ। सुधन गुरुङविरुद्ध मात्र नभई छिमेकी राष्ट्र चीनविरुद्ध नै यस्तो गम्भीर षड्यन्त्र बुन्ने र उनीहरूकै नाममा नेपाली मिडियालाई बदनाम गराउने यो शंकास्पद गतिविधिको सम्पूर्ण जानकारी प्रहरीका सबै तहलाई तत्कालै गराइएको छ। "तेरो पैसा र रक्सी फिर्ता लैजा, चिन्नु न जान्नुसँग आइन्दा यस्ता वाहियात कुरा नगर्" भनेर बेलैमा दिइएको कडा जवाफ र त्यसको सम्पूर्ण अडियो तथा प्रमाणहरू अहिले प्रहरीसँग सुरक्षित छन्। यति मात्र नभई, चिन्दै नचिनेका मान्छेले प्रकाशित समाचारहरूको कटिङ राखेर र सम्पादित (Edited) भर्सन टाँसेर मेकानिकल इन्जिनियर शैलेश साहको नामबाट फेसबुकमा जनआस्थाविरुद्ध भ्रामक सामग्री पोस्ट गरिएको समेत पाइएको छ।
यस घृणित काण्डमा नेपालकै केही तथाकथित पत्रकार र माफियाहरूको प्रत्यक्ष संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। गेटमा पैसा र रक्सी छाडेर जाने ती युवती र तिनका पर्दापछाडिका 'गुरुबा' को अहिले प्रहरीले तीव्र रूपमा खोजी गरिरहेको छ। करोडौँको खाली चेक अगाडि राख्दा पनि नबिकेको 'जनआस्था' को बलियो निष्ठालाई ५० हजार नगद र एक बोतल रक्सी अफिसको गेटमा छाडेको हल्ला पिटाएर बदनाम गर्छु भन्ने नसोच्न माफियाहरूलाई कडा चेतावनी दिइएको छ। मिडियाविरुद्ध कुनै न कुनै ठूलो षड्यन्त्र हुँदैछ भन्ने कुराको जानकारी वैशाख २७ गते बुटवलमा आयोजित 'मिडिया मन्थन' कार्यक्रममै सार्वजनिक रूपमा दिइएको थियो। झुटको खेती दुई दिन पनि नटिक्ने र यस्ता भ्रामक फण्डाले सत्यको आवाजलाई कहिल्यै दबाउन नसक्ने यो घटनाले पुनः एकपटक प्रमाणित गरिदिएको छ।
स्रोत:जनआस्था