दक्षिण कोरियामा ई-७ भिसाबाट नेपाली श्रमिक पठाउने प्रक्रिया अघि बढ्यो, मेनपावर व्यवसायी भने आन्दोलनमै

ecopolinews.com

काठमाडौं । दक्षिण कोरियामा सीपयुक्त नेपाली श्रमिकलाई ई–७ भिसामार्फत रोजगारीका लागि पठाउने प्रक्रिया अघि बढेको छ। मागपत्र प्रमाणीकरणका लागि रोजगारदाताले राजदूतावासले तोकेका सम्पूर्ण आवश्यक कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

मागपत्र प्रमाणीकरणका लागि आवश्यक कागजातको ढाँचा, आवेदन प्रक्रिया तथा प्रमाणीकरण शुल्कलगायत थप विवरण दक्षिण कोरियास्थित नेपाली राजदूतावासको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

दक्षिण कोरियामा ई–७ भिसामार्फत नेपाली श्रमिक पठाउने विषय लामो समयदेखि उठ्दै आएको थियो। पछिल्लो समय मागपत्र प्रमाणीकरणको प्रक्रिया अघि बढेसँगै सीपयुक्त श्रमिकका लागि कोरियाको रोजगारीको नयाँ बाटो खुल्ने अपेक्षा गरिएको छ।

तर, यही समयमा नेपालका वैदेशिक रोजगार व्यवसायीहरू भने आन्दोलनमा छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीका अनुसार व्यवसायीहरूले हाल कुनै पनि देशमा श्रमिक नपठाउने घोषणा गर्दै आन्दोलन गरिरहेका छन्।

खत्रीले ई–७ भिसामार्फत दक्षिण कोरियामा श्रमिक पठाउने विषय व्यवसायीहरूले विगतदेखि नै उठाउँदै आएको बताए। उनका अनुसार मागपत्र प्रमाणीकरणको प्रक्रिया सुरु भए पनि व्यवसायीहरूको आन्दोलन र कोरियामा श्रमिक पठाउने विषय समानान्तर रूपमा अघि बढिरहेको छ।

उनले भने, “ई–७ भिसामा श्रमिक पठाउने विषयमा विगतदेखि नै एजेन्डा उठाउँदै आएका थियौँ। अहिले मागपत्र प्रमाणीकरणको प्रक्रिया सुरु भएको छ। तर हामी व्यवसायीका माग सम्बोधन नभएसम्म श्रमिक पठाउने पक्षमा छैनौँ।”

व्यवसायीहरूले कोरियामा श्रमिक पठाउनका लागि बजार प्रवद्र्धन गर्ने तथा सम्भावित रोजगारदाताबाट मागपत्र ल्याउने प्रयास भने आफ्नो तहबाट जारी राखेका छन्। तर आन्दोलन अन्त्य नभएसम्म ती मागपत्रमार्फत श्रमिक पठाउने प्रक्रिया अघि नबढाउने उनीहरूको अडान छ।

अध्यक्ष खत्रीले सरकारले व्यवसायीहरूका माग सम्बोधन गरेपछि मात्रै दक्षिण कोरियासहित अन्य मुलुकमा श्रमिक पठाउने काम पुनः सुरु हुने स्पष्ट पारे।

२०८० को कार्यविधि नै आधार

गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी ‘कार्यविधि, २०८०’ नै यस प्रक्रियाको आधार हुने भएको छ। उक्त कार्यविधि पहिलोपटक २०८१ कात्तिक ९ गते र दोस्रोपटक २०८२ असार ९ गते संशोधन गरिएको थियो।

सम्बन्धित सूचनामा सन् २०२४ मा बनेको कार्यविधिअनुसार नै प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

ई–७ भिसा दक्षिण कोरियाले निश्चित सीप, योग्यता र पेशागत दक्षता भएका विदेशी श्रमिकलाई रोजगारीका लागि उपलब्ध गराउने भिसा श्रेणी हो। नेपालबाट पनि यस माध्यममार्फत दक्ष तथा सीपयुक्त जनशक्ति दक्षिण कोरियाली श्रम बजारमा प्रवेश गराउने प्रयास भइरहेको छ।

तर, सरकारी प्रक्रिया अघि बढे पनि वैदेशिक रोजगार व्यवसायीहरूको आन्दोलनका कारण कार्यान्वयन पक्षमा तत्काल चुनौती देखिएको छ। सरकार र व्यवसायीबीच सहमति बनेमा दक्षिण कोरियाको ई–७ रोजगारी नेपाली दक्ष जनशक्तिका लागि महत्वपूर्ण वैदेशिक रोजगार गन्तव्य बन्न सक्ने देखिन्छ।


प्रतिक्रिया