भोटेकोशी बाढीपीडितको उद्धार तीव्र बनाइँदै : सेना र निजी हेलिकप्टर परिचालन

ecopolinews.com

रविन्द्र कट्टेल - ११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जोखिममा परेका नागरिकको उद्धार तथा घाइतेको उपचारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। प्रभावित क्षेत्रमा आज बिहानैदेखि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरी उद्धार अभियानलाई तीव्र बनाइने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेरअघि सम्पन्न बैठकले बाढी प्रभावित क्षेत्रमा रहेका घाइते तथा जोखिममा परेका नागरिकलाई तत्काल उद्धार गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार उद्धार गरिएका घाइतेलाई प्रारम्भिक उपचारका लागि रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने अस्थायी उपचार क्याम्पमा लगिनेछ।

गम्भीर अवस्थामा रहेका घाइतेलाई भने समय खेर नफाली हेलिकप्टरमार्फत काठमाडौं ल्याएर थप उपचारको व्यवस्था मिलाइनेछ। घाइतेको अवस्था मूल्याङ्कन गरी प्राथमिकता निर्धारण (ट्रायाज) का आधारमा उद्धार र उपचार अघि बढाइने मन्त्रालयले जनाएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धारसँगै राहत सामग्री पुर्‍याउने कामसमेत अघि बढाइएको छ। प्रभावित नागरिकका लागि आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ।

भोटेकोशीमा आएको अचानक बाढीले नदी किनार तथा आसपासका बस्तीमा ठूलो जोखिम सिर्जना गरेपछि सुरक्षा निकायलाई उद्धार, खोजी तथा राहतमा केन्द्रित गरिएको छ। विपद्को संवेदनशील अवस्थालाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा सम्भावित थप क्षति रोक्ने प्रयासलाई समेत प्राथमिकता दिइएको छ।

सरकारले प्रभावित नागरिकलाई संयमित रहन, नदी तथा खोलाको तटीय क्षेत्रमा नजान र सुरक्षा निकायले दिएको निर्देशन पालना गर्न आग्रह गरेको छ। उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन राज्यका निकाय, सुरक्षा संयन्त्र तथा निजी क्षेत्रबीच समन्वय बढाइएको छ।

प्रतिक्रिया