मन्त्रीको गाडीले ११ वर्षीया बालिकालाई ठक्कर दिँदा सडक अवरुद्ध

ecopolinews.com

ललितपुर — ललितपुरको हरिसिद्धीमा शनिबार बिहान कोशी प्रदेशका आर्थिक मामिला मन्त्री रामबहादुर मगर सवार सरकारी गाडीले ११ वर्षीया बालिकालाई ठक्कर दिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, बिहान करिब सवा ७ बजे ललितपुर महानगरपालिका–२८ कटिखेल नजिक मन्त्री चढेको को १ झ ६९९ नम्बरको गाडीले बाटो काट्दै गरेकी बालिका उषा सुनारलाई ठक्कर दिएको हो।

घाइते बालिकालाई तत्कालै ग्वार्कोस्थित बिएण्डबी अस्पताल लगिएको प्रहरीले जनाएको छ। उनको अनुहारमा चोट लागे पनि अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको जानकारी प्राप्त भएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयले गोदावरी जाने मुख्य सडकमै गाडी तेर्स्याएर अवरोध गरेका छन्। कतिपयले सडकमा नै बेन्च राखेर बस्दा यातायात पूर्णरूपमा बन्द भएको हो।

उक्त समय गोदावरीमा नेकपा एमालेको विधान महाधिवेशन चलिरहेको छ। मन्त्री मगर सो कार्यक्रममा सहभागी हुन जाँदै गर्दा गाडी दुर्घटना भएको हो। दुर्घटनापछि उनी स्वयं अस्पताल पुगेर बालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

प्रतिक्रिया