राजीनामाको दबाबपछि ओलीको प्रस्ताव : तत्काल महाधिवेशनमार्फत पार्टी पुनर्गठन

ecopolinews.com

काठमाडौं । जेन–जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको नैतिक जिम्मेवारी लिएर राजीनामाको माग बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्काल महाधिवेशनमार्फत पार्टी पुनर्गठन गर्ने प्रस्ताव अघि सारेका छन्।

आइतबार गुन्डुस्थित ओलीको निवासमा बसेको केन्द्रीय सचिवालय बैठकमा बहुसंख्यक नेताहरूले नेतृत्वको राजीनामा माग गरेका थिए। उनीहरूले नरम भाषामा भए पनि नेतृत्वको गल्ती स्वीकार गर्दै आत्मालोचनासहित पुनर्गठनमा जानुपर्ने धारणा राखेका थिए।

बैठकमा अध्यक्ष ओलीले आफ्नो गल्ती नरहेको दाबी गर्दै विदेशी शक्तिको षड्यन्त्रका कारण पार्टी र सरकार दबाबमा परेको बताएका थिए। तर, उनले ढिलोमा मंसिरको तेस्रो साताभित्र महाधिवेशन सम्पन्न गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाउने प्रस्ताव गरेका हुन्।

बैठकले १९ र २० असोजमा पुनः सचिवालय बैठक बस्ने र त्यसपछि २७–२९ असोजमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।

यसैबीच, बैठकले ओलीलगायतको राहदानी रोक्का गर्न जाँचबुझ आयोगले गरेको सिफारिसलाई राजनीतिक प्रतिशोधपूर्ण भन्दै विरोध जनाएको छ। एमालेले यस्तो कदमले आयोगको विश्वसनीयता नै प्रश्नमा परेको प्रतिक्रिया दिएको छ।

पार्टीले जेन–जी आन्दोलनका क्रममा विध्वंसमा संलग्नलाई उन्मुक्ति दिने गृह मन्त्रालयको निर्देशनप्रति पनि आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “यस कदमले प्रहरीको कानुनी क्षेत्राधिकारमाथि हस्तक्षेप मात्र होइन, अपराधीहरूको मनोबल बढाउने र उन्मुक्ति दिने मनसाय बोकेको छ।”

प्रतिक्रिया