काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता पुष्पकुमार शाहीले नेता विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारलाई कडा शब्दमा निन्दा गर्दै यसलाई केवल व्यक्तिमाथिको आक्रमण मात्र नभई पार्टीको संस्कार र समग्र लोकतान्त्रिक मूल्यहरूमाथिको प्रहार भनेका छन्।
“आज अग्रज नेता विमलेन्द्र निधि पार्टी कार्यालय पुग्दै गर्दा भएको दुर्व्यवहार विल्कुलै गलत छ,” शाहीले बताएका छन्, “यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नु र राजनीतिमा स्वस्थ, सभ्य तथा लोकतान्त्रिक व्यवहारलाई मात्रै प्रोत्साहित गर्नु हामी सबैको साझा दायित्व हो।”
उहाँका अनुसार, महाधिवेशन जस्तो लोकतान्त्रिक अभ्यासको मागलाई आवरण बनाएर गरिने अनुशासनहीन र उच्छृङ्खल गतिविधिले पार्टीलाई बलियो होइन, कमजोर बनाउँछ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाही लेख्छन्—
“घोर भ्रत्सना गर्दछु।
आफ्नो बाल्यकालदेखि आजसम्म जनताको सार्वभौम अधिकारका लागि अविचलित रूपमा लड्दै आउनु भएका आदरणीय नेता विमलेन्द्र निधिमाथि गरिएको अभद्र व्यवहार नेपाली कांग्रेस र समग्र लोकतन्त्रकै अपमान हो। विशेष महाधिवेशनको नाममा पार्टी कार्यालयभित्र घुसपैठ गरी सभ्यता र अनुशासनको सीमा नाघेर गरिएको व्यवहार अस्वीकार्य छ। यस्ता असभ्य र उच्छृङ्खल व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्छ।”
नियमित महाधिवेशन : संकट होइन, समाधान
शाहीले नियमित महाधिवेशन कुनै डर वा विभाजनको विषय नभई पार्टीलाई संस्थागत, उत्तरदायी र जनमुखी बनाउने लोकतान्त्रिक औजार भएको स्पष्ट पारेका छन्। नियमित महाधिवेशनले नेतृत्वको वैधता बलियो बनाउने, कार्यकर्ताको आवाज संस्थागत गर्ने र आन्तरिक असन्तुष्टिलाई संवादमार्फत समाधान गर्ने अवसर दिन्छ।
उनका अनुसार, विचार र असहमति लोकतन्त्रको सुन्दर पक्ष हुन्, तर त्यसलाई हिंसा, धम्की र दुर्व्यवहारमा रूपान्तरण गर्नु लोकतान्त्रिक चेतनाको पतन हो। “अग्रज नेताहरू अनुभव, इतिहास र निरन्तरताका प्रतीक हुन्,” शाही भन्छन्, “उहाँहरूमाथि हुने आक्रमणले नयाँ पुस्तालाई गलत सन्देश दिन्छ र पार्टीभित्र अराजकताको ढोका खोल्छ।”
घटना कसरी भयो?
मंगलबार कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन सानेपास्थित पार्टी कार्यालय जाने क्रममा नेता निधिलाई बाहिरी गेटमै ‘विशेष महाधिवेशन चाहियो’ भन्दै केही कार्यकर्ताले दुर्व्यवहार गरेका थिए। सो घटनापछि पार्टीभित्र राजनीतिक संस्कार, नेतृत्वप्रतिको सम्मान र आन्दोलनको दिशा सम्बन्धी गम्भीर बहस सुरु भएको छ।
शाहीको स्पष्ट निष्कर्ष छ-नेतृत्वसँग असहमति राख्न सकिन्छ, माग गर्न सकिन्छ, तर अग्रज नेतामाथि हात हाल्ने, अपमान गर्ने वा धम्क्याउने संस्कृति स्थापित भयो भने त्यसको क्षति केवल एक व्यक्तिलाई होइन, नेपाली कांग्रेस र देशकै लोकतान्त्रिक भविष्यलाई पर्छ।