काठमाडौं । संविधान दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लामो मौनता तोडे। सत्ता छाडेपछि पहिलोपटक सार्वजनिक मञ्चमा देखिएका ओलीले हालै भएको जेन–जी आन्दोलनलाई देशी–विदेशी षड्यन्त्रको परिणामका रूपमा चित्रित गरे। उनको वक्तव्यले तत्कालीन राजनीतिक संकटलाई मात्र होइन, नेपाली समाजमा उम्लिरहेको असन्तोषलाई पनि नयाँ बहसमा धकेलेको छ।
ओलीले आफ्नो प्रसंगलाई सत्रौँ शताब्दीमा दरबारभित्रै षड्यन्त्रका कारण ज्यान गुमाएका काजी भीम मल्लसँग तुलना गरे। भीम मल्लको हत्या राजदरबारको शक्ति संघर्ष र विदेशी चलखेलसँग जोडिएको इतिहास छ। ओलीले त्यही उदाहरण प्रस्तुत गर्दै आजको जेन–जी आन्दोलनलाई बाह्य शक्तिहरूले प्रश्रय दिएको संकेत गरे। तर इतिहासकार र राजनीतिक विश्लेषकहरूले यस्तो तुलना समय सापेक्ष नभएको प्रतिक्रिया दिएका छन्। उनीहरूको भनाइ छ—जेन–जी आन्दोलन कुनै दरबारभित्रको षड्यन्त्र होइन, सडकमा निस्किएका युवाहरूको आवाज हो, जसलाई केवल बाह्य हस्तक्षेपले व्याख्या गर्नु अपुरो र गैरजिम्मेवार ठहरिन्छ।
आन्दोलनका क्रममा प्राण गुमाएका युवाहरू, सयौँ घाइतेहरू र हजारौँ आन्दोलनकारीहरूको मागबारे ओलीले प्रत्यक्ष रुपमा केही बोलेनन्। बरु उनले आफ्नो कार्यकालका उपलब्धिहरू—भारतले गरेको नाकाबन्दीको सामना, सीमा नक्सा सार्वजनिक गर्ने साहस, चीनसँगको कूटनीतिक सम्बन्ध र जीएसआईमा देखिएको संलग्नताको प्रसङ्ग दोहोर्याए। ती उपलब्धिहरूलाई उनले गर्वका रूपमा प्रस्तुत गरे पनि आन्दोलनले उजागर गरेको असन्तोषबारे मौन रहनुले उनको वक्तव्य अपुरो र आंशिक देखिएको छ।
राजनीतिक विश्लेषकहरूको ठहर छ—जेन–जी आन्दोलन मुख्यत: बेरोजगारी, सुशासनमा कमी, राजनीतिक अस्थिरता र भविष्यप्रति युवापुस्ताको गहिरो निराशाबाट उत्पन्न भएको हो। आन्दोलनलाई विदेशी षड्यन्त्रसँग मात्र जोडेर व्याख्या गर्नु भनेको मुल कारणलाई ओझेलमा पार्नु हो। उनीहरूको भनाइमा जब जनताको ठूलो हिस्सा सडकमा उत्रिन्छ, त्यसको जर भने आफ्नै समाज र शासन प्रणालीभित्र खोजिनुपर्छ।
ओलीको वक्तव्यले संविधान दिवसलाई मात्र नहीं, वर्तमान राजनीतिक परिदृश्यलाई पनि चर्चाको केन्द्रमा ल्याइदिएको छ। उनले उठाएका प्रश्नले शंका र विवादलाई चर्काएको छ भने, उनको मौनताले पीडित र असन्तुष्ट युवापुस्तालाई अझै टाढा धकेलेको आभास दिलाएको छ। इतिहासको उदाहरण अघि सार्दै वर्तमानलाई व्याख्या गर्ने ओलीको शैली प्रभावशाली भए पनि, त्यसले वास्तविक समस्याको समाधानतर्फ संकेत गरेको देखिँदैन।
संविधान दिवसले राष्ट्रिय एकता र भविष्यप्रतिको विश्वासलाई मजबुत बनाउनुपर्ने बेला हो। तर ओलीको वक्तव्यले फेरि एकपटक नेपाली राजनीतिमा विभाजन र बहसको नयाँ द्वार खोलिदिएको छ। प्रश्न के हो भने—जेन–जी आन्दोलनलाई केवल षड्यन्त्रको चश्माबाट हेर्ने कि त्यसलाई युवापुस्ताको वास्तविक आक्रोशका रूपमा ग्रहण गर्ने? यसको जवाफ दिन ढिलाइ गर्नु भनेको आगामी राजनीतिक संकटलाई अझै गहिरो बनाउने खतरा बोकेर आउँछ।