बाल यौन अपराधका दोषी रक गायक इयान वाटकिन्सको जेलमै हत्या

ecopolinews.com

काठमाडौं । वेल्सको प्रसिद्ध रक ब्यान्ड लस्टप्रोफेट्स (Lostprophets) का पूर्व मुख्य गायक इयान वाटकिन्सको जेलमै हत्या भएको छ। ४८ वर्षीय वाटकिन्सले बाल यौन अपराधका लागि ३५ वर्षको कैद सजाय काटिरहेका थिए।

ब्रिटिश सञ्चारमाध्यमका अनुसार शनिबार बिहान इंग्ल्यान्डको उत्तरस्थित वेकफिल्ड जेल (Wakefield Prison) मा एक अन्य कैदीले उनमाथि आक्रमण गरेपछि उनको मृत्यु भएको हो।

वेस्ट यर्कसायर प्रहरीले दिएको जानकारी अनुसार, “शनिबार बिहान ९:३९ बजे वेकफिल्ड जेलका कर्मचारीहरूले एक कैदीमाथि आक्रमण भएको खबर गरेका थिए। सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पुगेपछि ती व्यक्तिलाई केही समयमै मृत घोषित गरिएको थियो।”

यद्यपि प्रहरी वक्तव्यमा मृतकको नाम खुलाइएको छैन, तर विभिन्न ब्रिटिश मिडियाले मृतक व्यक्ति इयान वाटकिन्स भएको पुष्टि गरेका छन्।

वाटकिन्स सन् २०१३ मा बाल यौन अपराधका १३ वटा अभियोगमा दोषी ठहरिएका थिए। उनले दुई वटा प्रयास गरिएको बलात्कार, १३ वर्षभन्दा कम उमेरका बालबालिकामाथि यौन दुव्र्यवहार, यस्तो अपराधमा सहयोग र षड्यन्त्र गरेको अभियोग स्वीकारी गरेका थिए। साथै, उनले अश्लील बाल तस्बिर र अत्यन्तै आपत्तिजनक भिडियो सामग्री राखेको आरोपमा पनि दोषी ठहर भएका थिए।

कुख्यात अपराधीका रूपमा चिनिएका वाटकिन्सको जेलमै भएको हत्या अहिले बेलायतभर चर्चाको विषय बनेको छ।

प्रतिक्रिया