निष्ठाको राजनीति र कांग्रेसको भविष्य: ‘अभागी’ नेता गोविन्द भट्टराईको विश्लेषण

ecopolinews.com

काठमाडौँ - नेपाली कांग्रेसभित्र इमानदार र सादगी नेताको छवि बनाएका गोविन्द भट्टराई यतिबेला चर्चाको केन्द्रमा छन्। नेविसंघ र तरुण दल जस्ता भ्रातृ संस्थाको सफल नेतृत्व गरेर पनि अहिलेसम्म कुनै राजकीय पदमा पुग्न नसकेका भट्टराईलाई कतिपयले 'अभागी' नेताको संज्ञा दिने गर्छन्। आफ्नै कनिष्ठ कार्यकर्ताहरू पार्टीको उच्च पदमा पुग्दा पनि राजकीय भूमिकाबाट वञ्चित भट्टराई पछिल्लो समय पार्टीको आन्तरिक विवाद र राजनीतिक भविष्यबारे चिन्तित देखिन्छन्।

तनहुँको विकट गाउँहरूमा सडक र खानेपानी पुर्‍याउन उल्लेख्य भूमिका खेलेकै कारण 'पानी मान्छे' का रूपमा चिनिने भट्टराईले हालैको एक संवादमा पार्टीको वर्तमान अवस्था र आसन्न महाधिवेशनबारे आफ्ना धारणा राखेका छन्।

पार्टी फुट्दैन, विधानको पालना अनिवार्य छ

पछिल्लो समय कांग्रेसभित्र देउवा समूह र इतर समूहबीच देखिएको विवाद र छुट्टै महाधिवेशनको चर्चालाई नेता भट्टराईले नकारेका छन्। "अदालतको फैसला आइसकेपछि त्यसलाई मान्नुको विकल्प छैन," उनले भने, "पार्टीभित्र गुटगत अभ्यास लामो समयदेखि चल्दै आएको भए पनि कांग्रेस फुट्छ भन्ने मलाई लाग्दैन।"

उनले थपे, "के भनेर पार्टी फुटाउने? पार्टी एकताबद्ध थियो र छ। म आफैँ गगन थापाकै टिकटमा चुनाव लडेको हुँ र उनलाई भावी प्रधानमन्त्री भनेर भोट मागेको हुँ, त्यसैले नेतृत्वमा अहिले कुनै संशय छैन।"

असोजको महाधिवेशन र व्यावहारिक चुनौती

पार्टीभित्र आगामी असोजमा १५औँ महाधिवेशन गर्ने प्रस्ताव आएको सन्दर्भमा भट्टराईले यसको व्यावहारिक पक्षमाथि प्रश्न उठाएका छन्। क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्य जटिल रहेको भन्दै उनले देशैभरका कार्यकर्तालाई फेरि नवीकरणका लागि तत्कालै भन्नु अव्यावहारिक हुने तर्क गरे।

चुनावी पराजय र पार्टीको पुनरुत्थान

तनहुँ–१ बाट दुई पटक चुनाव हारेका भट्टराईले हारको जिम्मा कसले लिने भन्दा पनि पार्टीलाई कसरी पुनरुत्थान गर्ने भन्ने मुख्य विषय भएको बताए। "अहिले हाम्रो भोट १७ लाख ५० हजारको हाराहारीमा छ, जबकि प्रतिष्पर्धीको ५१ लाख छ। यो १७ लाखलाई कसरी ४०–५० लाख पुर्‍याउने भन्ने नै हाम्रो अबको मुख्य कार्यसूची हुनुपर्छ," उनले भने।

लोकतान्त्रिक संस्थामाथिको प्रहारप्रति चिन्ता

वर्तमान सरकार र राजनीतिक व्यवस्थाप्रति टिप्पणी गर्दै भट्टराईले लोकतान्त्रिक संस्थाहरूमाथि प्रहार हुन थालेकोमा चिन्ता व्यक्त गरे। "सैद्धान्तिक हिसाबले स्पष्ट रूपमा नआएपछि भोलि बोल्ने अधिकारमै अंकुश लाग्ने हो कि भन्ने शंका छ," उनले भने। भ्रष्टाचारका आरोप लाग्नेबित्तिकै मन्त्रीहरूले पद छाड्ने प्रवृत्तिलाई उनले सकारात्मक रूपमा लिँदै लोकतन्त्रको रक्षा नै कांग्रेसको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए।ratopati

प्रतिक्रिया