रविन्द्र कट्टेल - कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) को १५औं सिनेट बैठक भव्यताका साथ सम्पन्न भएको छ। विश्वविद्यालयको समग्र विकास र आगामी रणनीतिक दिशा तय गर्दै सम्पन्न यस ऐतिहासिक बैठकसँगै विश्वविद्यालयका उपकुलपति डा. ऋषि राम कट्टेलले कृषिको आधुनिकीकरण र शैक्षिक उन्नयनका लागि एक शक्तिशाली र दूरगामी भिजन प्रस्तुत गर्नुभएको छ।
नेपालको कृषि, पशु चिकित्सा, पशु विज्ञान, मत्स्य पालन र वन विज्ञानको क्षेत्रलाई विश्वस्तरिय मापदण्डमा पुर्याउने अठोट व्यक्त गर्दै उपकुलपति डा. कट्टेलले विश्वविद्यालयलाई 'सेन्टर अफ एक्सीलेन्स' (Center of Excellence) को रूपमा स्थापित गर्ने दृढ संकल्प व्यक्त गर्नुभएको छ। उहाँको यस भिजनले परम्परागत शिक्षण पद्धतीलाई चिर्दै अनुसन्धान, नवीनता र विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ। उपकुलपति डा. कट्टेलका अनुसार अब विश्वविद्यालयले 'ल्यान्ड ग्रान्ट मोडल' (LGM) अन्तर्गत ट्रिपल हेलिक्स मोडल लाई पूर्ण रूपमा आत्मसात गर्दै शैक्षिक प्रणालीलाई सीधै किसान, उत्पादन र राष्ट्रिय अर्थतन्त्रसँग जोड्नेछ।
यस नवीन र वैज्ञानिक मोडेलको कार्यान्वयनले विश्वविद्यालय केवल डिग्री वितरण गर्ने संस्थामा मात्र सीमित नभई, देशको समग्र कृषि क्रान्तिको संवाहक बन्ने स्पष्ट रेखांकन गरिएको छ। अनुसन्धान र नवप्रवर्तनका माध्यमबाट प्राज्ञिक क्षेत्र र समाजको तल्लो तहसम्म प्रत्यक्ष प्रभाव पार्ने उपकुलपतिको यो योजना आफैंमा अत्यन्तै महत्वाकांक्षी र युगान्तकारी मानिएको छ।
आफ्नो यस रणनीतिक भिजनलाई मूर्तरूप दिन निरन्तर साथ, समर्थन र मार्गदर्शन प्रदान गरेको भन्दै उपकुलपति डा. कट्टेलले विश्वविद्यालयका सह-कुलपति तथा अध्यक्ष सस्मित पोखरेल, सम्पूर्ण सिनेट सदस्यहरू र सुपरिवेक्षकहरूप्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्नुभएको छ। सामूहिक सहकार्य र स्पष्ट नेतृत्वको बलमा मात्र विश्वविद्यालयले आफ्नो लक्षित उचाइ हासिल गर्न सक्ने कुरामा उहाँले जोड दिनुभएको छ।
नेतृत्वको यो ऊर्जाशील र स्पष्ट दृष्टिकोणले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको शिखरमा पुर्याउने र नेपालको कृषि क्षेत्रमा एक ऐतिहासिक रूपान्तरण ल्याउने बलियो आधार खडा गरेको छ। उपकुलपति डा. कट्टेलको यो अठोटले विश्वविद्यालयका विद्यार्थी, अनुसन्धानकर्ता र समग्र कृषक वर्गमा नयाँ आशा र उत्साहको सञ्चार गराएको छ।