रविन्द्र कट्टेल - ३० भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ समूहले सोमबार मध्यराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि शक्तिशाली प्रदर्शन गरेको छ।
मन्त्री छनोटमा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका युवाहरुले ‘प्रधानमन्त्री राजीनामा दे’ र ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नाराबाजी गरेका थिए। जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका सदस्य पनि नाराबाजीमा सहभागी थिए।
प्रदर्शनका क्रममा बालुवाटारस्थित तीन नम्बर गेट अगाडि सुदन गुरुङले कडा चेतावनी दिंदै भने,
“सबसे पावरफुल नेपाली जनता हो, कसैले हामीलाई रोक्न सक्दैन। जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यही ठाउँबाट थुतेर निकालिदिन्छु।”
गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शितल निवासमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीको सपथ समारोहमा सुदन गुरुङ स्वयं उपस्थित भई उनको खुट्टा ढोगेका थिए। तर, प्रधानमन्त्रीले आइतबार मात्र तीन मन्त्री नियुक्त गरेपछि विवाद सुरु भएको छ।
प्रधानमन्त्री कार्कीले कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेकी थिइन्। तर, सुदन गुरुङ समूहले आफूहरूसँग सल्लाह नगरी निर्णय गरिएको भन्दै कडा असन्तुष्टि जनाएको छ।
विशेषगरी ओम प्रकाश अर्याललाई गृहमन्त्री बनाइएको निर्णयप्रति सुदन गुरुङ आक्रोशित देखिए। उनले भने, “यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर।”
सुदन समर्थकहरूले आन्दोलन ‘हाइज्याक’ गरिएको आरोप लगाउँदै सडक आन्दोलनलाई अझ तिव्र पार्ने चेतावनी दिएका छन्।
नाराबाजीका कारण प्रधानमन्त्री निवास अगाडि सुरक्षाकर्मीहरूको तैनाथी थप कडा पारिएको छ।
३० भदौ २०८२, सोमबार ०८:३४ मा प्रकाशित