महाकाली नदीको गाइडबण्ड पुनःनिर्माणको कार्य तीव्रताका साथ अघि बढ्दै: पृतनापति उपरथी किरण केसीद्वारा स्थलगत अनुगमन

ecopolinews.com

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलसँगै क्षतिग्रस्त बनेको गाइडबण्डको पुनःनिर्माण कार्यको उच्च सैन्य अधिकारीबाट निरीक्षण गरिएको छ। सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी किरण केसीले मङ्गलबार एक कार्यक्रमका बीच नेपाली सेनाद्वारा पुनःनिर्माण भइरहेको उक्त संवेदनशील क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको हो।

गत वर्ष महाकाली नदीमा आएको विनाशकारी बाढीले पुलको सुरक्षाका लागि बनाइएको गाइडबण्डको करिब ३०० मिटर भागमा ठूलो क्षति पुर्‍याएको थियो। पुललाई नदीको बहावबाट सुरक्षित राख्ने उक्त महत्त्वपूर्ण संरचना भत्किएपछि त्यसको संवेदनशीलतालाई मध्यनजर गर्दै पुनःनिर्माणको जिम्मेवारी नेपाली सेनाले सम्हाल्दै आएको छ।

अनुगमनका क्रममा पृतनापति उपरथी केसीले निर्माण कार्यको प्रगति, गुणस्तर र कार्यस्थलको सुरक्षा अवस्थाबारे विस्तृत जानकारी लिनुभएको थियो। बाढी र मनसुनको समय नजिकिँदै गर्दा पुल र आसपासका बस्तीलाई जोखिमबाट जोगाउन सेनाले युद्धस्तरमा खटिएर गाइडबण्ड निर्माणको कामलाई अगाडि बढाइरहेको छ।

(तस्बिरः शेरबहादुर सिंह/रासस)


प्रतिक्रिया