“संवादकै बाटो सही हो, अशान्ति होइन” — गृह मन्त्रालयको नागरिकलाई अपिल

ecopolinews.com


काठमाडौं । सरकारले देशभर शान्ति, सुव्यवस्था र अमनचयन कायम राख्दै आगामी निर्वाचनलाई सफल बनाउन सबै नागरिकसँग संयमता र जिम्मेवार व्यवहारको आग्रह गरेको छ।

गृह मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा असन्तुष्टि र मागलाई सडकमा झोकेर होइन, संवाद र छलफलमार्फत समाधान खोज्न आग्रह गरिएको छ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “सरकार नागरिकका चासो र मागप्रति संवेदनशील छ। असन्तुष्टिका स्वरलाई वार्ता र समझदारीको माध्यमबाट समाधान गर्न हामी सधैँ तत्पर छौँ।”

मन्त्रालयले धर्ना, प्रदर्शन, जुलुस लगायतका कार्यक्रम अघि बढाउँदा शान्तिपूर्ण माध्यम अपनाउन पनि सबै पक्षलाई अनुरोध गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हिंसा र तोडफोडले समस्या गहिरिन्छ, समाधान होइन। त्यसैले सबैले संयम र जिम्मेवारीका साथ अघि बढ्न आवश्यक छ।”

नयाँ सरकार गठनपछि शान्ति–सुरक्षाको अवस्था सामान्य बनाउँदै फागुन २१ गते तय भएको निर्वाचनको वातावरण तयार गर्न सरकार सक्रिय रहेको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयको यो अपिलसँगै सरकार देशभर स्थायित्व, समावेशी संवाद र नागरिक–राज्यबीच विश्वास पुनःस्थापित गर्ने प्रयासमा देखिएको छ।

प्रतिक्रिया