रविन्द्र कट्टेल - सम्पत्ति शुद्धीकरण प्रकरणमा अनुसन्धानको घेरामा रहेका विवादास्पद व्यवसायी एवं बिचौलिया दीपक भट्टको एक सनसनीपूर्ण अडियो-भिडियो संवाद सार्वजनिक भएपछि नेपालको राजनीतिक र प्रशासनिक वृत्तमा गम्भीर पराकम्पन सञ्चालन भएको छ। विशेष गरी नेपाल प्रहरीका लागि हतियार खरिद प्रक्रियासँग जोडिएको भनिएको उक्त संवादमा भट्टले राज्यका शक्तिशाली संसदीय समितिहरू- लेखा समिति र राज्य व्यवस्था समितिलाई आफ्नो 'मुठीमा' राख्न सक्ने दाबी गरेका छन्। नीति निर्माण र खबरदारी गर्ने निकायहरूलाई नै प्रभावित पार्न सक्ने उनको यो अभिव्यक्तिले राज्य संयन्त्र कतिसम्म बिचौलियाको चंगुलमा छ भन्ने भयावह चित्र उजागर गरेको छ।
सार्वजनिक संवादमा भट्टले सत्ता र प्रतिपक्ष कसैलाई पनि आफूले बाँकी नराखेको र सबैलाई 'सेटिङ' मा मिलाउन सक्ने अहंकारपूर्ण दाबी गरेका छन्। "सत्तापक्षमा एमाले र कांग्रेस छन्, विपक्षमा लाजिम्पाट (माओवादी) र सानेपा (कांग्रेसको अर्को गुट)-सबैलाई म ह्याण्डल गर्छु," भन्दै उनले राजनीतिक नेतृत्वलाई आफ्नो इसारामा नचाउन सक्ने संकेत दिएका छन्। अझ उदेकलाग्दो कुरा त के छ भने, उनले राज्यका उच्चपदस्थहरूलाई रिझाउन 'विमानको टिकट काटिदिनेदेखि छोराछोरी भर्ना गराइदिनेसम्म' का व्यक्तिगत सुविधाको प्रलोभन दिने गरेको स्वीकारोक्तिले भ्रष्टाचारको जरा कति गहिरो छ भन्ने स्पष्ट पार्छ।
यस प्रकरणले केवल आन्तरिक भ्रष्टाचार मात्र होइन, राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेपको गम्भीर पाटोलाई पनि सतहमा ल्याएको छ। भट्टले हतियार खरिदमा छिमेकी मुलुकहरूको दबाब र प्रभावबारे खुलेरै बोलेका छन्, जहाँ उनले चिनियाँ हतियार र सञ्चार प्रणाली नलिन भारतीय पक्षबाट आउने सुझाव र दबाबलाई समेत 'डिल' गर्ने गरेको उल्लेख गरेका छन्। संवेदनशील सञ्चार प्रणाली छिमेकीबाट नलिनु उपयुक्त हुने तर्क गर्दै उनले दंगा नियन्त्रण गण वा तालिम केन्द्र निर्माण जस्ता विकल्प अघि सारेर नीतिगत तहमा खेल्ने प्रयास गरेको देखिन्छ।
यो अडियो सार्वजनिक भएपछि सार्वजनिक खरिद प्रक्रियाको पारदर्शिता र राष्ट्रिय सुरक्षाको गोपनीयतामाथि गम्भीर प्रश्न खडा भएको छ। एकजना बिचौलियाले संसद्, सरकार र सुरक्षा निकायका रणनीतिक निर्णयहरूलाई कसरी प्रभावित पार्छन् भन्ने यो ज्वलन्त प्रमाण हो। सम्बन्धित निकायहरूले यस विषयमा थप गम्भीर अनुसन्धान अघि बढाइरहेको जनाए पनि, उच्च राजनीतिक नेतृत्वको संरक्षणका कारण यो प्रकरण सामसुम पारिने हो कि भन्ने संशय नागरिकस्तरमा व्याप्त छ।