मधेसदेखि गण्डकीसम्म बाढीको उच्च जोखिम, आइतबारदेखि नदीमा बहाव तीव्र हुने चेतावनी

ecopolinews.com

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाभित्र देशका विभिन्न नदी–नालामा आकस्मिक बाढीको जोखिम बढ्ने चेतावनी दिएको छ। शनिबार दिउँसोदेखि नै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका क्षेत्रमा वर्षा सुरु हुने विभागको पूर्वानुमान छ।

विभागका बाढीविद् विनोद पराजुलीका अनुसार शनिबार बिहानसम्म सबै प्रमुख नदीहरूमा जलसतह सामान्य र स्थिर रहे पनि दिउँसोपछि भने नदीमा बहाव तीव्र हुन थाल्नेछ।

विशेषगरी नवलपरासी पश्चिम–पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं उपत्यका र आसपासका जिल्लामा बग्ने स–साना नदी–नालामा आकस्मिक बाढी आउन सक्ने जोखिम उच्च रहेको विभागको चेतावनी छ।

आइतबार बिहानदेखि बेलुकीसम्म नारायणी, कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती र कमलालगायतका नदीमा बहाव उल्लेख्य बढ्न सक्ने देखिएको छ।

यस्तै, आइतबार रातिदेखि प्रणाली क्रमशः पूर्वतर्फ सर्ने भएकाले कोशी, कन्काई लगायतका नदी जलाधार क्षेत्रमा समेत बाढीको सम्भावना बढ्ने विभागको भनाइ छ।

बाढी, डुबान र पहिरोको जोखिम बढ्न सक्ने भन्दै प्रभावित क्षेत्रका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया